पुलिसलाई स्तब्ध पार्दै एपीएफ जीतपुरसिमरा महिला फूटबलको फाइनलमा

सिमरा: नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब जीतपुरसिमरा महिला फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार राति सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा २-१ को जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा एपीएफका लागि रश्मि कुमारी घिसिङले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । पुलिस क्लबका तर्फबाट निर्मला विकले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएकी थिइन् ।बराबरीपछि थप रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा एपीएफकी पूर्णिमा राईले गोल गर्दै टोलीलाई जित दिलाइन् ।
एपीएफकी कप्तान अनिता बस्नेत खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनलाई नेपोभिट टायल्सका सञ्चालक शम्भुनाथ झा र विभा झाले पाँच हजार नगदसहित संयुक्त रूपमा पुरस्कृत गरेका थिए ।
उपाधिका लागि शनिबार साँझ हुने फाइनल भिडन्तमा एपीएफ र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् ।







