धनुषामा अवैध सामान र प्रतिबन्धित पटकासहित मोटरसाइकल बरामद

जनकपुर: धनुषाको औरही गाउँपालिका-५ स्थित हरुसाहा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ।
भारतबाट भन्सार छली चोरी-पैठारी गरी ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले लाखौं मूल्य बराबरको सामानसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल रेल्वे सुरक्षा बेस जनकपुरधामबाट खटिएको मोबाइल टोलीलाई देखेर तस्करहरू सामान छाडी फरार भएपछि प्रहरीले जाँच गर्दा अवैध रूपमा ओसारपसार भइरहेको रजनीगन्धा, राजनिवास, विभिन्न किराना सामान, तिहार लक्षित प्रतिबन्धित पटका र ओसारपसारमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
बरामद गरिएका सामान तथा सवारी साधनको कुल बजार मूल्य करिब पाँच लाख बराबर रहेको अनुमान गरिएको छ। बरामद सामाग्रीहरूलाई नियमानुसार कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
चाडपर्वका बेला सीमावर्ती नाकाहरूबाट हुनसक्ने चोरी-तस्करी र प्रतिबन्धित पटका ओसारपसार रोक्न धनुषाका विभिन्न नाकामा सशस्त्र प्रहरीले गस्ती र निगरानी थप तीव्र बनाएको छ।







