‘अर्णव’ चक्रवातको जोखिमः पाकेको बाली आजसम्म भित्राउन जिल्ला प्रशासन कार्यालय बाराको आग्रह


eShilalekh

११ कार्तिक २०८३, बुधबार ०८:३५

सिमराः बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण सम्भावित वर्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बाराले सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिवारसम्म सचेत रहन आग्रह गरेको हो ।

विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले किसानहरूलाई पाकेको धानबाली कार्तिक ११ गते बुधवारभित्रै सुरक्षित रूपमा भित्र्याउन र वर्षाको अवधिभर बाली नकाट्न अनुरोध गरेको छ। यसैगरी नदी तथा खोलाहरूमा आकस्मिक बाढी, कटान र डुबानको जोखिम रहेकाले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्धारा जारी सूचनामा वर्षाको समयमा अनावश्यक यात्रा नगर्न, राजमार्गमा यात्रा गर्दा अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।

यसैगरी आपतकालीन परिस्थितिलाई ध्यानमा राख्दै अत्यावश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न र जिल्लास्थित विपद् उद्धार टोलीहरूलाई २४ सै घण्टा तयारी अवस्थामा बस्न निर्देशनसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्