कलैया–पिलुवा सडकखण्डमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते

सिमराः बाराको कलैया–पिलुवा सडकखण्डमा भएको दुर्घटनामा साइकल र मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका-१८ कुसमाडीकी साइकलयात्री सुनिता चौधरी र मोटरसाइकलमा सवार पर्साको पोखरियाका नरेन्द्र चौहान र विवेककुमार राउत घाइते भएका हुन् ।
वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्र.०२–०३ ०१२प १९६८ नम्बरको मोटरसाइकलले साइकलमा सवार सर्वसुलभ सहकारीमा कार्यरत चौधरीलाई ठक्कर दिएको स्थानीय सञ्चारकर्मी पुष्पराज खतिवडाले जानकारी दिएका छन् ।
दुर्घटनालगत्तै घाइते तीनै जनालाई थप उपचारका लागि वीरगन्ज लगिएको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ ।







