लखरजिया देवी हत्या प्रकरण: हत्या गर्ने तीनै जना पुर्पक्षका लागि थुनामा

वीरगन्जः पर्साको धोबिनी गाउँपालिका-५ मा ६२ वर्षीया लखरजिया देवीको हत्या गरी नगद तथा गरगहना लुटेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
थुनछेक बहसपछि अदालतले धोबिनी गाउँपालिका-५ का २१ वर्षीय चन्दनकुमार पटेलसहित १७ र १५ वर्षका दुई बालकलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्मका लागि थुनामा राख्न आदेश दिएको हो।
उक्त मुद्दामा जाहेरवालाको तर्फबाट जिल्ला सरकारी न्यायाधिवक्ता आनन्द न्यौपाने तथा अधिवक्ताहरू केसी लामिछाने, आकाश महतो, औरन्जेब अहमद र मेराज अन्सारीले बहस गरेका थिए।
गत असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवी आफ्नै घरको दोस्रो तलास्थित कोठामा मृत फेला परेकी थिइन् । घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।





