राहुलको आक्रामक बलिङ, जनकपुरको शानदार जित


eShilalekh

१२ कार्तिक २०८३, बिहीबार १६:०८

सिमराः काठमाडौं गुर्खाजविरुद्ध जनकपुर बोल्ट्सले आठ विकेटको शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा काठमाडौं गुर्खाजले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरको जितमा अलराउन्डर मोइन अलीले ५८ रनको अर्धशतकीय पारी खेले भने सैफ हसनले ४० रनको योगदान दिए । पाकिस्तानी खेलाडी फर्किएपछि अन्तिम समयमा टोलीमा आबद्ध भएका सैफले जनकपुरलाई पहिलो जित दिलाउन महत्वपूर्ण भूमिका निभाए ।

खेलको सातौं रनको स्थितिमा ओपनर तृतराज दासलाई गुमाएर दबाबमा आएको जनकपुरको इनिङ्सलाई मोइनले सम्हालेका थिए । ३७ रनको स्थितिमा मयन यादव रनआउट भएपछि क्रिजमा आएका सैफ हसनले मोइनलाई गतिलो साथ दिएका थिए । बलिङतर्फ काठमाडौंका रिपोन मण्डलले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रन बनाएको थियो । काठमाडौंको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा राहुल यादवले आक्रामक बलिङ गर्दै चार ओभरमा ३१ रन खर्चिएर चार महत्वपूर्ण विकेट हात पारे । राहुल प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी सैफ हसनले दुई विकेट लिए भने मोइन अली, हरमित सिंह र ललित राजवंशीले समान एक-एक विकेट आफ्नो नाममा गरे ।

जितसँगै जनकपुरले प्रतियोगितामा पहिलो दुई अंक जोडेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर दबाबमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्