जीतपुरसिमरा १४ का भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण कलैया पठाइयो

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयले वडाभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत तथा स्वीकृत विवरण जिल्ला भूमि समस्या समाधान समिति कलैयामा हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाको असोज १९ गते बसेको ७१औं कार्यपालिका बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्दै उक्त प्रक्रिया अगाडि बढाइएको हो । यसै क्रममा वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङले जिल्ला भूमि समस्या समाधान समिति समक्ष सिफारिस पत्र र स्वीकृत विवरण हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण गरिएको विवरण अनुसार उक्त वडामा १४ भूमिहीन दलित, एक सय ३६ भूमिहीन सुकुम्बासी र चार सय २९ अव्यवस्थित बसोबासीसहित कुल पाँच सय ७९ परिवारको विवरण तयार पारिएको छ ।
उपमहानगरपालिकाबाट सिफारिस पत्रसहित पठाइएको सोही स्वीकृत विवरणका आधारमा सम्बन्धित निकायबाट अब आवश्यक कानुनी तथा व्यवस्थापनका कार्यहरू अगाडि बढाइनेछ । उक्त विवरण हस्तान्तरण गर्ने क्रममा उपमहानगरपालिकाका अधिकृतद्वय सुधन चौधरी र रामप्रसाद शर्मालगायत उपस्थित थिए ।





