फेटा घटना: छानबिन समिति गठन, घाइतेलाई काठमाडौं पठाउने तयारी हुँदै

सिमरा: बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार भएको घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा उक्त छानबिन टोली गठन गरेको हो । समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन ।
फेटा गाउँपालिकाको कार्यालयले नवनिर्मित १५ शय्याको अस्पताल भवन उद्घाटन गर्ने तयारी गरेसँगै शनिबार दिनभर क्षेत्र तनावग्रस्त बनेको थियो । गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल प्रसादसहित स्थानीय बासिन्दाले काम पूर्ण रूपमा सम्पन्न नहुँदै भवन उद्घाटन गर्न लागिएको भन्दै विरोध जनाएका थिए ।
विरोधका बाबजुद गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले शनिबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरेका थिए । सो कार्यक्रम उद्घाटनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा बारा आएकी थिइन । विरोध प्रदर्शन चर्किंदै जाँदा स्थानीयले उद्घाटन कार्यक्रमका लागि अस्पताल परिसरमा बनाइएको टेन्ट र शिलालेख भत्काएका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर १४ वर्षीय आदित्य पासवान गम्भीर घाइते थिए । उनको कम्मरभन्दा माथिल्लो भागमा लागेको गोली शल्यक्रिया गरी निकालिएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ भने थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।
घटनामा अनावश्यक बल प्रयोग गरी गोली चलाएको भन्दै आन्दोलनरत पक्षले इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामालाई कारबाही गर्न माग गरेका थिए । जनक्रोश बढेसँगै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई खटाइएको छ ।





