प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई


eShilalekh

१६ कार्तिक २०८३, सोमबार ०९:०५

सिमरा: प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । १७ स्वर्ण, १० रजत र ९ कास्य पदकसहित प्रथम हुँदै मधेसले उपाधि जितेको हो । उपाधिसंगै मधेसले नगद ५० हजार प्राप्त गरेको छ । 

यसैगरी १७ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित बागमती प्रदेश द्वितीय भएको छ। बागमतीले नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक चितवन तेक्वान्दो डोजाङ १० स्वर्ण, १७ रजत र ४० कास्य पदक सहित तेस्रो भएको छ । आयोजकले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा ग्योरुगीतर्फ आयोजकका साहिल मंसुर र महिलातर्फ बागमती प्रदेशकी दिक्षा तामाङ उत्कृष्ट फाइटर घोषित भएका छन् । यस्तै पुम्सेतर्फ पुरुषमा गण्डकी प्रदेशका आयुश गुरुङ र महिलामा कोशी प्रदेशकी युमि राई उत्कृष्ट खेलाडी बनेका छन ।

प्रतियोगितामा मधेस प्रदेशका शंकर रखाल र दिपेश मानन्धर उत्कृष्ट कोच घोषित भएका छन् भने उज्वल श्रेष्ठ उत्कृष्ट निर्णायक बन्न सफल भएका छन । विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई जनही एक सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेता तथा उपविजेता टोली, उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, चितवन खेलकुद विकास समिति प्रमुख राजन कार्की, प्रतियोगिता संयोजक प्रज्वल दवाडी, अन्तर्राष्ट्रिय संयोजक अशोक खडका, आयोजक डोजाङ प्रमुख रोशन खानलगायतले पुरस्कार वितरण गरेका थिए । 

रत्ननगरको टाडीमा कार्तिक १३ गते सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, अष्ट्रेलियासहित विभिन्न देशका खेलाडी सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्