पर्सामा सात लाख मूल्य बराबरको पटाका र विस्फोटक सामग्री नष्ट

वीरगन्जः पर्सा प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइएका करिब सात लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक सामग्री नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति र स्थानमा गरेको जाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो।
बरामद गरिएका सामग्री बुधबार सञ्चारकर्मीहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनी पानीसहित पुरेर नष्ट गरिएको प्रहरी प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
चाडपर्वको समयमा अवैध रूपमा पटाका तथा विस्फोटक पदार्थ नेपाल भित्र्याउने र बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी तथा जाँचलाई थप कडा बनाएको जनाएको छ।





