भीमफेदी हाइस दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो, मृतकमध्ये एक गर्भवती महिला


eShilalekh

२६ कार्तिक २०८३, बिहीबार १६:४५

सिमराः मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय (ईभी) हाइस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । दुर्घटनामा अन्य ६ जना यात्रु अझै घाइते छन् ।

दुर्घटनामा ज्यान गुमाउने यात्रुहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका बासिन्दा हुन् भने सवारी चालक सर्लाहीकै कविलासी नगरपालिका-८ का हुन् । दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरपुरका राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव, १६ वर्षीय छोरा सुधेश यादव, जेठा छोरा अवधेश यादवकी श्रीमती पुनम यादव, नातिनीहरू १० वर्षीया अनु यादव, सात वर्षीया शिक्षा यादव र ६ वर्षीया दिपिका यादव रहेका छन् । मृतक पुनम यादव आठ महिनाकी गर्भवतीसमेत रहेको खुलेको छ ।

यसैगरी सुन्दरपुरकै २६ वर्षीय गुडु यादव, २४ वर्षीया गायत्री देवी यादव, ४० वर्षीय राकेश राय, १४ वर्षीय रोहन राय, २५ वर्षीय सुबोध राय, २५ वर्षीय राम दुलार राय, २५ वर्षीय राम प्रवेश राय, सवारी चालक ३० वर्षीय रविशंकर मण्डलको समेत मृत्यु भएको छ ।

दुर्घटनामा परी मुकेश राय, देवेन्द्र राय, मृतक गुडु यादवका पाँच वर्षीय छोरा सक्षम राय र तीन वर्षीय छोरा सुजन राय, अवधेश यादवका १६ महिने नाबालक छोरा सुदिप यादव घाइते भएका छन् । घाइतेमध्ये तीन वर्षीय सुजन र १६ महिनाका नाबालकलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल र ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ। मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।

छठ पर्वका लागि काठमाडौंबाट मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस रिजर्भ गरेर सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको हो । गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्