धनुषा: सवारी ज्यान मुद्दाका फरार अभियुक्त दुई वर्षपछि पक्राउ


eShilalekh

२६ कार्तिक २०८३, बिहीबार १७:१५

जनकपुर: धनुषा प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-८ सोनपाराका २५ वर्षीय शिवशंकर यादव छन्।

२०८० चैत १३ गते बिहान करिब ६ बजे धनुषाको लक्ष्मीनिया गाउँपालिका-६ स्थित सेन्ट्रल अस्पताल अगाडि यादवले चलाएको ‘डीएल १२ सी ०९४४’ नम्बरको भारतीय कारले ‘प्रदेश २-०२-००४ प-६९४७’ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खुट्टा टोलका २५ वर्षीय मोटरसाइकल चालक रामबाबु साह गम्भीर घाइते भएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको थियो।

दुर्घटनापछि कार चालक यादव घटनास्थलबाटै गाडी छाडेर फरार भएका थिए। उनको खोजीमा जुटेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले उनी सिराहाको मिर्चैयामा लुकिछिपी बसिरहेको पत्ता लगाएको थियो। इलाका प्रहरी कार्यालय मिर्चैयासँग समन्वय गरी प्रहरी टोलीले यादवलाई २०८३।०७।२५ गते दिउँसो करिब ३:२० बजे मिर्चैयाबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका यादवमाथि ‘सवारी ज्यान मुद्दा’ अन्तर्गत प्रचलित कानुनबमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्