उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सम्पन्न

सिमराः लोकआस्था, निष्ठा र सूर्य उपासनाको महान पर्व छठ आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । चार दिनसम्म अत्यन्तै नियम, निष्ठा र कठोर व्रतका साथ मनाइने यस पर्वको अन्तिम दिन आज ब्रतालुहरूले नजिकैका नदी, पोखरी तथा जलाशयका किनारमा पुगी उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् ।
गत शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको छठ पर्व शनिबार खरना र हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको थियो । आज बिहानै बारा, पर्सासहित विभिन्न स्थानका छठ घाटहरूमा ब्रतालु तथा श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको थियो । बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अर्घ्य’ भनिन्छ ।
ब्रतालुहरूले बाँसको छैटी र ढक्कीमा राखिएका ठेकुवा, भुसवा, केरा, उखु, नरिवल, अदुवा, मिठाई तथा विभिन्न मौसमी फलफूलहरू सूर्य देवतालाई चढाउँदै परिवारको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दछन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रतालुहरूले घाटमै छठको कथा सुन्ने, प्रसाद वितरण गर्ने र घर फर्किएर पारण (व्रत समापन) गरी अन्नजल ग्रहण गर्ने गरेका छन्।





