दुई पूर्ववडाध्यक्षसहित जसपा नेपालका कार्यकारिणी सदस्य गिरी कांग्रेसमा प्रवेश


eShilalekh

३० कार्तिक २०८३, सोमबार २०:३९

सिमराः जसपा नेपालका कार्यकारिणी सदस्य घनश्याम गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सिमरामा सोमबार आयोजित एक कार्यक्रमकाबीच गिरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

गिरी २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट ४(१) को उम्मेदवार बन्दै सात हजार तीन सय ८६ मत प्राप्त गरेका थिए । राजपा अहिले लोसपा नेपाल हुँदै जसपा नेपालमा समाहित भइसकेको छ ।

गिरी हालै उक्त पार्टीको कार्यकारिणी सदस्यमा मनोनित भएका थिए । कांग्रेस रोजेका गिरीलाई सभापति गगन थापाले स्वागत गरेका थिए । उनीसँगै मधेस प्रदेश सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिका–१० का पूर्ववडाध्यक्ष सरोज कुमार राउत, जीतपुरसिमरा–८ का पूर्ववडाध्यक्ष रामबाबु राउत कुर्मी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

जसपामा समाहित हुनुअघि राउत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको जीतपुरसिमरा नगर अध्यक्ष थिए । राउत २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट पाँच सय ५० मत पाउँदै वडा नं. १० को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने राउत लोसपा नेपालबाट उम्मेदवार बन्दै तत्कालिन नेकपा एकीकृत समाजवादीका उम्मेदवार सञ्जयप्रसाद पटेलसँग पराजित भएका थिए । राउत अबको निर्वाचनमा पुनः उम्मेदवार बन्ने तयारीसहित कांग्रेस प्रवेश गरेका हुन् ।

यसैगरी कांग्रेस रोजेका कुर्मी पनि २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट सात सय २१ मत प्राप्त गर्दै वडा नं. ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा लोसपा नेपालबाट उम्मेदवार बनेका उनी नेकपा एमालेका शिवशंकर प्रसाद महतो कोइरीसँग पराजित हुन पुगे ।

पछिल्लो पटक तत्कालिन नेकपा एकीकृत समाजवादीसँग नजिकिएका कुर्मी नेकपा एमाले हुँदै अहिले कांग्रेसमा प्रवेश गरेका हुन् । अबको निर्वाचनमा पुनः उम्मेदवार बन्न कुर्मी कांग्रेस प्रवेश गरेका हुन् ।

यसैगरी कांग्रेस रोज्नेमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी पनि छन् । गिरी जसपा नेपाल जीतपुरसिमरा नगर सचिव हुन् । उनी कार्यकारिणी सदस्य घनश्याम गिरीका छोरा हुन् ।

उनीहरुसहित सयौंको संख्यामा कांग्रेस प्रवेश गरेका युवालाई कांग्रेस सभापति थापाले स्वागत गरेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शोभाकर पराजुली, ममत शर्मा, संविधान सभा सदस्य मधु शाही, जिल्ला सभापति मनोज भट्टलगायत उपस्थित थिए । क्षेत्र नं. ४ का क्षेत्रीय सभापति लोकेश सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य मेघा शाहीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्