चीनमा पदक जित्ने वीरगन्जका तेक्वान्दो खेलाडी महानगरद्वारा सम्मानित


eShilalekh

३ मंसिर २०८३, बिहीबार १५:२९

वीरगन्ज: चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जका तीनजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले बिहीबार सम्मानित गरेको छ ।

चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिखमा सञ्चालन भएको ‘हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्ण र कांस्य पदक जितेका खेलाडीलाई महानगरपालिकाले सम्मानित गरेको हो ।

२४ देशका खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै १८ खेलाडी सहभागी भएका थिए। जसमध्ये वीरगन्जबाट गएका तीनै जना खेलाडीले पदक हात पार्न सफल भएका थिए । प्रतियोगितामा वीरगन्जकी अवन्तिका झाले स्वर्ण पदक तथा सान्वी शर्मा र अवन्सिका गुप्ताले कांस्य पदक जितेका थिए । प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा सहभागी वीरगन्जका सबै खेलाडीले पदक जित्न सफल भएका हुन् ।

खेलाडीलाई सम्मान गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगन्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे । खेलाडीको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीको मेहनत, लगनशीलता र प्रतिभाको प्रशंसा गरे ।

साथै मेयर सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताउँदै आगामी दिनमा आवश्यक प्रोत्साहन, अवसर र व्यवस्थित संरचना निर्माणमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्