मुख्यमन्त्री यादवको पहिलो निर्णय: रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकता

जनकपुरधाम: मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकता दिने गरी दुई महत्वपूर्ण निर्णय गरेका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उनले ती निर्णय गरेका हुन् ।
प्रदेशमा विद्यमान गरिबी र बेरोजगारी न्यूनीकरण गर्दै युवा, श्रमिक तथा महिलालाई सीपयुक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्यले रोजगारमुखी कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ । यसअन्तर्गत मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
त्यसैगरी आधुनिक प्रविधिमा आधारित स्वरोजगार प्रवर्द्धन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ई-कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत उद्यमशीलता विकास गर्ने प्रस्ताव गरिएको छ । प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । मुख्यमन्त्री यादवले वन तथा वातावरण संरक्षण तथा जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्ने अर्को निर्णयसमेत गरेका छन् ।
यसअघि आइतबार नै उनले मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा सोभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि निर्धारित समयभित्र दाबी नपरेपछि प्रदेश प्रमुख कर्णले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री यादवले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।





