गुणस्तरीय दुध बिक्री गर्ने किसानलाई औराहा पशुपालन कृषि सहकारीको सम्मान

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित औराहा पशुपालन कृषि सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । दुर्गा मन्दिरको सभाहलमा आयोजित साधारणसभाको अवसरमा संस्थाले गुणस्तरीय तथा सर्वाधिक दुध बिक्री गर्ने किसानसहित विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा समूहलाई सम्मान गरेको हो ।
कार्यक्रममा गुणस्तरीय दुध बिक्री गर्ने किसानहरू लिला कार्की, विष्णु चौधरी, दण्डपानी आचार्य, हिरा सापकोटा र राममाया माझीलाई सम्मान गरिएको छ । यसैगरी सबैभन्दा बढी दुध बिक्री गर्ने किसानका रूपमा गुड्डी देवी, शंकर सिम्खडा, भीमालिम्बु तामाङ, तोयानाथ लुईटेल र राधिका अधिकारी सम्मानित भएका छन् ।
संस्थाले नियमित बचतकर्ता कृष्णकुमारी दाहाल, असल ऋणी कलावती पासवान, उत्कृष्ट पशु प्राविधिक जुक्ति पासवान, नियमित उपभोक्ता कविता पौडेल, असल खरिदकर्ता जीवनकुमार भट्टराई र उत्कृष्ट समूह लालीगुँरासलाई समेत पुरस्कृत गरेको छ । यस्तै पत्रकारिताको माध्यमबाट सहकारीको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै पत्रकार दिवाकर भण्डारीलाई पनि संस्थाले सम्मान गरेको छ ।
सम्मानित व्यक्तित्वहरूलाई जीतपुरसिमरा उपमहानगरपालिका–४ का वडाध्यक्ष भोजबहादुर खत्री र संस्थाका अध्यक्ष शंकर सिम्खडालगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । संस्थाका अध्यक्ष सिम्खडाको अध्यक्षतामा सम्पन्न साधारणसभामा पूर्वअध्यक्ष मदनबहादुर क्षेत्री, थानेश्वर पाध्या, सल्लाहकार मुकुन्दबहादुर क्षेत्री, माधव त्रिपाठी, रमेश खरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सीता केसीले गरेकी थिइन् ।






