निजगढ विमानस्थल देशको ‘लाइफलाइन’ हो, जसरी पनि निर्माण हुन्छ : मन्त्री पौडेल


eShilalekh

१० मंसिर २०८३, बिहीबार १४:४८

सिमरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुककै ‘लाइफलाइन’ भएकाले यसको निर्माण कार्य जसरी पनि अघि बढाइने बताएका छन् । बाराको सिमरामा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्थानीय प्रभावित बासिन्दालाई अन्यायमा नपर्ने गरी उचित व्यवस्थापन र पुनर्स्थापनासहित विमानस्थल निर्माण गरिने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यो भन्दा बढी क्षमतामा संचालन हुन सक्ने अवस्था नरहेको र पोखरा तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आ-आफ्नै सीमितता रहेकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नरहेको उनको भनाइ थियो । सरकारले राखेको पर्यटन विकासको लक्ष्य पूरा गर्न निजगढ विमानस्थल मुटु र केन्द्रविन्दुका रूपमा रहने बताउँदै उनले यसको निर्माणका लागि आफूले समेत पैरवी गर्ने बताए ।

मन्त्री पौडेलले निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को काम आगामी तीन वर्षभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे । द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट मधेस प्रदेशमा आउने मानिसको आवागमनमा वृद्धि हुने बताउँदै उनले त्यसको व्यवस्थापनका लागि तयार रहन आग्रह गरे । भविष्यमा बढ्ने यात्रु तथा पर्यटकको चापलाई ध्यानमा राख्दै होटल तथा पर्यटन क्षेत्रमा दह्रो मुटु बनाएर ढुक्कका साथ लगानी गर्न उनले निजी क्षेत्रका पर्यटन व्यवसायीहरूलाई आह्वान समेत गरे ।

भ्रमणका क्रममा मन्त्री पौडेलले सिमरा पार्कको समेत स्थलगत अवलोकन गरेका छन् । पार्कको प्राकृतिक सौन्दर्य र सम्भावनाको प्रशंसा गर्दै उनले सिमरा पार्कलाई व्यवस्थित ‘बटरफ्लाई गार्डेन’ (पुतली बगैंचा) तथा जैविक अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखेका थिए ।

मन्त्री पौडेलले बिहीबार जीतपुरसिमरा–४ औराहस्थित श्रीकृष्ण मन्दिरमा आयोजित श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सवको शुभारम्भ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्