खानेपानी मन्त्री चौधरीसहित कांग्रेसका तीन नेतालाई पार्टीबाट निलम्बन


eShilalekh

२८ भाद्र २०७९, मंगलवार १८:१४

सिमराः नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

समितिले बारा क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री चौधरीलाई स्थानिय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउदै निलम्बन गरेको हो । समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रिय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ ।

अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन् । उनिहरुमाथी स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ । तीनै जनालाई निलम्बल गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको यादवले जानकारी दिएका छन् । पार्टी विरोधी गतिविधिमा लागेको कारण कारवाही गरिएको यादवले बताए ।

लामो समयदेखि दुई गुटमा विभाजित कांग्रेस भित्रको विवाद यतिबेला छताछुल्ल भएको छ । केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र मन्त्री चौधरी कृष्णप्रसाद सिटौलाको छुट्टाछुट्टै गुट छ ।

केन्द्रीय तहमा देउवा र सिटौमा एकै समुहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ । यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए । दुवै पक्षले आफूले गरेको सिफारिसलाई आधिकारिक रहेको दावी गर्दै आएको थियो ।

यसअघि मंसुर निकट रही बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणी महतोले हस्ताक्षर गरेका छन् ।

बैशाख २८ गतेको मिति रहेको उक्त पत्र बाहिरिएपछि अर्को पक्षले एकै पटक तीन जनालाई निलम्बन गरेको हो । दुवै समुहले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम कारवाही गरेको उल्लेख गरेका छन् । कांग्रेसको बारा जिल्ला समितिमा देउवा समुह बलियो छ ।

प्रतिक्रिया दिनुहोस्