क्यानबेरामा ‘नेपाली खेलकुद सम्मेलन’


eShilalekh

१३ असार २०७८, आईतवार ०३:१३

सिमरा : अष्ट्रेलियाको राजधानी क्यानबेरामा पाचौं ओसियाना नेपाली खेलकुद सम्मेलन हुने भएको छ । अष्ट्रेलिया-नेपाल फ्रेण्डसिप सोसाइटीको संयोजनमा चैत २८ देखि बैशाख १ गते (अप्रिल १०-१३) सम्म सम्मेलन हुने भएको हो।

नेपाली समुदायलाई एकआपसमा जोड्न र आपसी सद‍्भाव बढाउने उद्देश्यले अष्ट्रेलियामा खेलकुद सम्मलेन हुँदै आएको छ । यसअघि अष्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिएको सम्मलेन यसपटक क्यानबेरामा गर्न लागिएको हो ।  

क्यानबेरामा सम्मेलन हुने भएपछि नेपाली समुदाय उत्साहित देखिएका छन् । सम्मेलनलाई सफल बनाउन सोसाइटीले गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानबेरा नेपाली फुटबल क्लब, क्यानबेरा नेपाली क्रिकेट क्लब, क्यानबेरा नेपाली भलिबल क्लबसहित विभिन्न संघ, संस्थासँग सहकार्य थालेको छ।

खेलकुद सम्मेलनका संयोजक डा. दुर्गादत्त कंडेलले क्यानबेरामा पहिलो पटक सम्मेलन हुन लागेकाले यसलाई सफल बनाउन आफूहरु उत्साहका साथ तयारीमा जुटेको बताए । यसअघि पहिलो र चौथो सम्मेलन सिड्नी, दोस्रो मेलबर्न र तेस्रो ब्रिसबेनमा भएको थियो ।

चार दिने सम्मेलनमा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, दौड, ब्याटमिन्टन, टेबल टेनिस, लंग टेनिस, गल्फ खेल हुनेछन् । सम्मेलनमा अष्ट्रेलियाको आठ राज्य र न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली भाषी खेलाडीको सहभागिता रहने संयोजक कडेलले बताए ।  

प्रतिभावान युवा खेलाडीलाई उजागर गर्नुका साथै स्वस्थ रहन, नेपाली समुदाय र संगठनबीच सद्भाव बढाउन, व्यवसायिक साझेदारी वृद्धि गर्न, आत्मविश्वास बढाउन, खेलकुद क्षेत्रको प्रवद्र्धन गर्नलगायत विभिन्न उद्देश्यका साथ सम्मेलन गर्न लागिएको कंडेलले बताए । अष्ट्रेलियासहित न्युजिल्याण्ड, पपुवा न्युगिनि, फिजीलगायत विभिन्न देशका खेलाडी र संघसंस्थालाई सम्मेलनमा सहभागिता र सहकार्यका लागि आह्वानसमेत गरिएको संयोजक कंडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्