सिमरा खानेपानी निर्वाचनः अनुभवीलाई निरन्तरता कि नयाँलाई अवसर


eShilalekh

१९ फाल्गुन २०७८, बिहीबार २१:३८

सिमरा: मधेस प्रदेशको तीन उपमहानगरपालिका मध्येको एक जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्रभित्र पर्ने सिमराले छुट्टै पहिचान स्थापित गरेको छ । कुनैबेला औद्योगिक करिडोर भित्रको सानो शहर भनेर चिनिने सिमराले आफ्नो परिचयको दायरा फराकिलो बनाएको हो ।

बढ्दो शहरीकरणले सिमराको स्वरुपसंगै परिचय र विशेषतालाई थप सुन्दर बनाउदै लगेको देख्न सकिन्छ । औद्योगिक नगरीसंगै व्यापारिक केन्द्रमा रुपान्तरित हुदै गरेको सिमरा शिक्षा, स्वास्थ्य, व्यवसाय, पर्यटन, खेलकुदलगायत विभिन्न क्षेत्रको हब बन्ने मार्गमा अग्रसर छ ।

सिमरा र आसपासका क्षेत्रमा निजि लगानीकर्ताको आकर्षण बढ्दो छ । संघीय राजधानीसंगको छोटो दुरीमा रहेको विमानस्थल, सुविधासम्पन्न होटल, निकुञ्ज, औद्यागिक क्षेत्र, शान्तिसुरक्षालगायत विभिन्न बलियो पक्षले सिमरामा लगानी भित्रिने क्रम बढेको हो । लगानी भित्रदै गर्दा सिमराको आर्थिक र सामाजिक रुपान्तरणको गति पनि तिब्र अवस्थामा छ ।

सानादेखी ठुला लगानीकर्ताको आकर्षण बढ्दै जाँदा सिमरामाथी चुनौती पनि उत्तिकै थपिदै गएको छ । लगानी बढ्नु भनेको व्यापार व्यवसाय, रोजगारीसंगै अन्य गतिविधि पनि दिनानुदिन वृद्धि हुनु हो । जसले शहरलाई व्यवस्थित राख्न चुनौती थपिदै जान्छ । शहर व्यवस्थित हुन न्युनतम आवश्यकताका पूर्वाधार बलियो र दिगो हुन जरुरी छ । पूर्वाधारका हिसाबले सिमरा अधिकांश पक्षले सबल छ । त्यसमध्ये एक हो खानेपानी ।

खानेपानीका लागि सिमरा व्यवस्थित शहरभित्र पर्दछ । साना तथा ठुला उद्योग, कलकारखाना, कार्यालय, होटल, व्यापार व्यवसाय र सर्वसाधारणले दैनिक उपभोग गर्ने पानीको आपूर्ति सिमरामा पर्याप्त देखिन्छ । सिमरा क्षेत्रभित्र बसोबास गर्ने नागरिकले खानेपानीको अभाव महसुस गरेको घटना नगन्य होला । तर दिगोरुपमा पानीको अभाव हुन नदिन सिमराले दीर्घकालिन सोच बनाउन जरुरी देखिन्छ ।

सिमरामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमार्फत पानी वितरण हुदै आएको छ । समितिसंग हाल करिब नौ लाख लिटर क्षमताको पानी भण्डारण गर्न सक्ने ओभरहेड ट्यांकी छ । सिमरास्थित कार्यालयमा दुई लाख २५ हजार, तराई यातायात व्यवसायी संघ अगाडी चार लाख ५० हजार र औराहमा दुई लाख २५ हजार क्षमताको ट्यांकीबाट पानि वितरण भईरहेको छ । त्यसबाहेक हाल रामवनमा चार लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माणाधिन छ । उक्त ट्यांकी निर्माण भई संचालन हुदा समितिले एकैपटक १३ लाख ५० हजार लिटर पानी भण्डारण गर्न सक्छ ।

समितिसंग पानी तान्ने बोरिङको संख्या ९ वटा छ । कार्यालयमा दुई, तराई संघ अगाडी दुई, औराहमा दुई र रामवनमा दुई गरी समितिसंग हाल नौ वटा बोरिङ छ । उक्त बोरिङमार्फत उपभोक्तालाई पानि वितरण हुदै आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २, ३, ४ को सम्पूर्ण, वडा नं. १ को पथलैया बाहेकको क्षेत्र र वडा नं. ५ र ६ को केही भूभागमा सिमरा खानेपानी उपभोक्ता समितिबाट पानी वितरण हुने गरेको छ ।

समितिबाट पानी उपभोग हुने धाराको संख्या चार हजार पाँच सय ९४ रहेको छ । उक्त उपभोक्ताबाट समितिले मासिक न्युनतम आठ लाख देखी अधिकतम १५ लाखसम्म महसुल संकलन गर्ने गरेको छ । पूर्वाधारका हिसाबले बलियो देखिएको समितिले उपभोक्तालाई दैनिक तीन पटक गरी नौ घण्टा पानी उपलब्ध गराउने गरेको छ । जुन हाललाई पर्याप्त देखिन्छ ।

पूर्वाधारका हिसाबले अब्बल देखिएको सिमरा खानेपानीले पाईपलाईन विस्तार गर्दै आफ्नो क्षेत्रलाई फराकिलो बनाउदै लगेको छ । भुगोलको हिसाबले फराकिलो क्षेत्रमा सेवा विस्तार गर्दै आएको समितिमाथी चुनौती पनि थपिदो अवस्थामा छ । माग बमोजिम पूर्वाधार थप गरी सेवा विस्तार गर्दै आएको समितिले बढदो शहरीकरणकाबीच पानीको माग बढ्दै जाने हुँदा अब दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । व्यवस्थित शहरको रुपमा उदाउदै गरेको सिमराको मुख्य आधारको रुपमा रहेको पानीको आपूर्ति निरन्तर सहज र सुलभ बनाउन समिति मात्र नभई समाजको हरेक क्षेत्र र वर्ग उत्तिकै जिम्मेवार अनि प्रतिबद्ध हुन जरुरी छ ।

अति उपभोग्य वस्तुको रुपमा रहेको पिउने पानीको सेवा प्रभावित हुन नदिन सामाजिक एकता अपरिहार्य हो । तर अन्य क्षेत्रजस्तै खानेपानी उपभोक्ता तथा सरसफाई समिति जस्तो संवेदनशिल संस्था पनि राजनितिबाट अछुतो रहन सकेको छैन् । पछिल्लो समय सामाजिक तथा शैक्षिक संस्थाको नेतृत्व चयनमा दलिय प्रतिस्पर्धा अनिवार्य जस्तै बनेको छ ।

त्यसैको पछिल्लो उदाहरण हो सिमरा खानेपानीको निर्वाचन । खानेपानीको संचालक समिति चयन गर्न फाल्गुन २१ गते मतदानको मिति नै तोकिएको छ । सामाजिक संस्थाको नेतृत्व गर्न उम्मेदवारहरु दलिय समर्थनमा उपभोक्ताको घरदैलोमा पुगिरहेका छन् । आफ्नो कार्ययोजनासहित घरघरमा पुगेर मतदाता रिझाउन उम्मेदवारको प्रयास जारी छ । यो प्रयास विहिवार राती १२ सम्म चल्नेछ । मतदानको अघिल्लो २४ घण्टाको मौन अवधीको समय रहेकाले उम्मेदवारहरु विहिवार साँझसम्म मत माग्न व्यस्त छन् ।

नेतृत्वका लागि कासिम हुसेन र राजकुमार भट्टराईको प्यानल चुनावी मैदानमा उत्रिएको छ । हुसेन तीन कार्यकाल नेतृत्वमा रहेर काम गरिसकेका उम्मेदवार हुन् । तीन पटक अध्यक्ष भईसकेका हुसेन चौथो पटक समितिको नेतृत्व लिन उम्मेदवार बनेका छन् । खानेपानीको अध्यक्ष तीन कार्यकाल विताएका हुसेन विभिन्न संघसंस्थाको नेतृत्वमा रहदै आएका थिए ।

भट्टराई खानेपानीका लागि नयाँ अनुहार हुन् । यसअघि नव जागृति युवा क्लबको अध्यक्ष रहेका भट्टराई अन्य संघसंस्थामा आवद्ध रहदै आएका छन् । भट्टराई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका हुन् । उनको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पूर्णचन्द्र तिमिल्सिना, सचिव राजेन्द्र सुवेदी, सहसचिव रुद्रनाथ शर्मा र कोषाध्यक्ष दिलुमाया श्रेष्ठ उम्मेदवार बनेका छन् । यसैगरी सदस्यका उम्मेदवारमा दधिर प्याकुरेल, रामकृष्ण तिमिल्सिना, रामकुमार भट्टराई, रामबहादुर लामा, शिवचन्द्र चौधरी र सञ्चमाया श्रेष्ठ रहेका छन् ।

यता हुसेन नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन् । हुसेन नेतृत्वको प्यानलको उपाध्यक्षमा शशीकुमार गौतम, सचिव जयकिशोर राउत, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल रहेका छन् । यसैगरी सदस्यमा मुमानाथ शर्मा, प्रकाश बहादुर क्षेत्री, तोयानाथ लुईटेल, राजकुमार बर्तौला, निर्मला केसी र सुभद्रा कुमारी उम्मेदवार बनेका छन् ।

दुवै प्यानलले फाल्गुन १३ गते निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका थिए । पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा मदनबहादुर क्षेत्री रहेका छन् । निर्वाचन समितिले उम्मेदवारलाई चुनाव चिन्ह समेत प्रदान गरिसकेको छ । उम्मेदवारहरु दलका नेता र जनप्रतिनिधि लिएर सोही चुनाव चिन्हमा मत माग्दै उपभोक्ताको घरमा पुगिरहेका छन् । समितिले हुसेन नेतृत्वको प्यानललाई ‘बल’ र भट्टराई नेतृत्वको प्यानललाई ‘मयुर’ छाप चुनाव चिन्ह प्रदान गरेको थियो ।

मतदातासंग मत प्राप्त व्यस्त रहेका दुवै प्यानलका उम्मेदवार चुनाव जित्नेमा आशावादी छन् । चौथो पटक नेतृत्व आउनेमा ढुक्क देखिएका हुसेन निर्वाचित भएपछि काम गर्न बाँकी रहेका योजना अघि बढाउने बताउछन् । तीन पटक नेतृत्व गरेको संस्थामा रहदा निर्माणाधिन अवस्थामा रहेको कामलाई सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको हुसेनको भनाई छ ।
‘मेरो उम्मेदवारी दिनुको एउटै उदेश्य भनेको अधुरो रहेको काम सम्पन्न गर्नु हो’ हुसेनले भने ‘दिर्घकालिन योजनासहित अगाडी बढाइएको योजना अधुरो रहनु राम्रो नभएकाले उम्मेदवारी दिएको हु ।’ आफू अन्तिम पटक नेतृत्वमा आएर खानेपानीको दिगो व्यवस्थापन गरे हस्तान्तरण गर्ने सोचमा रहेको हुसेनको भनाई छ ।

खानेपानी समितिको नेतृत्व गर्न अनुभवी व्यक्तिको आवश्यकता रहेको र आम उपभोक्ताको आग्रहमा आफू पुनः अध्यक्षको उम्मेदवार बनेको हुसेनले बताए । उपभोक्ताले विश्वास गरेर आफूलाई पटकपटक एउटै पदमा बसेर काम गर्न जिम्मेवारी दिएकाले उपभोक्ता र समग्र सिमराको हितका लागि आफूले काम गर्दै आएको हुसेनले बताएका छन् ।

यता अध्यक्षका अर्का उम्मेदवार भट्टराईले भने एउटै पदमा एउटै व्यक्ति पटकपटक दोहोरिनु उचित नभएकाले आफूले उम्मेदवारी दिएको बताए । ‘संस्था एउटा व्यक्तिको मात्रै होईन् । सबैको साझा हो । एउटै व्यक्ति टाँसिएर बस्नु राम्रो होईन्’ भट्टराईले भने ‘त्यसैले मैले उम्मेदवारी दिएको हु ।’

भट्टराईले विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव आफूसंग रहेकाले खानेपानीको नेतृत्व गर्न कठिनाई नहुने बताएका छन् । सिमरामा पानिको माग बढ्दो अवस्थामा रहेकाले त्यसलाई पूरा गर्न र दिर्घकाकालिन सोचका साथ काम आफ्नो उम्मेदवारी रहेको भट्टराईको भनाई थियो ।

सिमरास्थित खानेपानीको कार्यालयमा शनिवार हुने निर्वाचनमा चार हजार पाँच सय ९४ उपभोक्तामध्ये नविकरण गराएका तीन हजार दुई सय २७ मतदाता सहभागी हुदैछन् । निर्वाचनले ११ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्