पर्यटकको रोजाइमा हात्ती सफारी


eShilalekh

१३ असार २०७८, आईतवार ०३:२७

हात्तीसार (अमलखेगञ्ज) : पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । पूर्वाधार र प्रचार अभावमा ओझेलमा पर्दै आएको निकुञ्जमा केही महिना यता घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढेको हो ।

निकुञ्ज आउने धेरै पर्यटकको रोजाई हात्ती सफारी हुने गरेको छ। पर्यटक आउन थालेपछि हात्ती र हात्तीसारका कर्मचारी व्यस्त हुन थालेका हुन् ।  पर्यटकलाई लक्षित गरी निकुञ्जको हात्तीसारमा रहेका हात्तीमा राज्यको ठूलो लगानी रहेको छ । तर प्रचारप्रसार अभावमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या भने सन्तोषजनक छैन् । पर्यटक नआउँदा हात्तीसारका कर्मचारीको दैनिकी हात्तीको स्याहारसुसारमा मात्रै बित्ने गरेको थियो। पर्यटक बढ्न थालेपछि कर्मचारी समेत खुशी हुन थालेको हात्तीसारका प्रमुख मनपुरण चौधरीले बताए । 

‘पहिला खासै थिएन्, अहिले पर्यटक आउन थालेका छन् । विदाको दिन अझ भीड हुने गरेको छ,’ चौधरीले भने, ‘पर्यटक आउँदा हामीलाई पनि खुशी लाग्छ। बिहान र बेलुकाको समयमा घुमाउने गरेका छौं।’

हात्तीसारमा बिहान दुई घण्टा र साँझ दुई घण्टा हात्ती चढ्न सकिन्छ । दिउँसोको समयमा भने हात्तीलाई चराउन जंगल लगिने गरिएको छ । हात्ती चढ्नका लागि विदेशी पर्यटकले दुई हजार पाँच सय र प्रवेश शुल्क एक हजार पाँच सय तिर्ने गरेका छन् । स्वदेशी पर्यटकका लागि भने हात्ती चढेको शुल्क पाँच सय र प्रवेश शुल्क एक सय तोकिएको छ । 

कात्तिक महिनामा पर्यटकबाट निकुञ्जले ४१ हजार राजश्व संकलन गरेको छ । यो अघिल्लो महिना भन्दा दोब्बर हो । कात्तिक महिनामा ३५ स्वदेशी तथा ६ विदेशीले हात्ती र जीप सफारी गरेका छन् ।

जीप सफारीका लागि भने विदेशी र स्वदेशी पर्यटकका लागि दुई हजार पाँच सय शुल्क राखिएको छ । जीप चढेर जंगल घुम्न आउने पर्यटक पनि बढ्न थालेको चौधरीले बताए । ‘जीप सफारी गर्ने पर्यटक पनि आउँछन्, तर हात्ती चढ्न रुचाउनेको संख्या धेरै छ । विदाको दिन पर्यटकलाई घुमाउन हात्ती समेत पुग्दैन, ‘चौधरीले भने, ‘जति प्रचार हुँदै गयो उति पर्यटक बढिरहेका छन् । अहिले त थुप्रै होटल पनि खुलेका छन् । होटलले पनि पर्यटकलाई हात्ती र जीप चढाउन ल्याउने गरेको छ। ‘

पर्यटकको संख्या बढ्दा खुशी लागेपनि यतिको संख्या अत्यन्तै कम भएको चौधरीको भनाई छ । यसको अझ प्रचार गर्न सकिए र पूर्वाधार बढ्दै गए यो संख्या अझै बढ्ने भन्दै चौधरीले पर्यटक जति बढे हात्तीसारका कर्मचारी त्यति नै ब्यस्त हुने बताए । सार्वजनिक विदाको समयमा धेरै पर्यटक आउने हुदा पर्यटक घुमाउनका लागि हात्तीको अभाव हुने गरेको चौधरीले बताए । 

हात्तीसारमा अहिले सानो ठूला गरी ९ वटा हात्ती छन् । जसमध्ये चारवटा हात्ती निकुञ्जको पोष्टको सुरक्षाका लागि खटिएका छन् । पर्साको सुवर्णपुर र प्रतापपुरमा दुई÷दुई हात्ती राखिएका छन्। हात्तीसारमा भएका पाँचमध्ये तीनवटा हात्तीमा मात्रै पर्यटकलाई घुमाउने गरिएको छ । अन्य दुई हात्ती साना छन् । १० वटा हात्तीको दरबन्दी रहेको हात्तीसारमा तीनवटा हात्तीको मृत्यु भएपछि समस्या भएको चौधरीको भनाई छ । 

हात्तीसारमा हात्तीको स्याहारसुसारका लागि ३२ जना कर्मचारी खटिएका छन् । एउटा हात्तीमा एक माउते, एक पछुवा र एक फनैत कर्मचारी छन् । एउटा हात्तीका लागि राज्यको प्रति महिना कर्मचारी र आहार गरी करिब एक लाख रकम खर्च हुने गरेको छ । पर्यटकको संख्या बढ्दै गए हात्तीमा राज्यले गरिरहेको लगानी राजश्वबाट समेत उठाउन सकिने चौधरीले बताए ।

पर्यटकीय सम्भावना बोकेको अमलेखगञ्ज र हात्तीसार क्षेत्रमा करोडौको लगानीमा ठूला होटल समेत खुल्न थालेका छन् । सुविधासम्पन्न होटल खुल्न थालेपछि स्वदेशी तथा विदेशी पर्यटक निकुञ्ज घुम्न आउन थालेका हुन् । हात्ती चढेर निकुञ्ज क्षेत्रमा पाटेबाघ, चितुवा, जरायो, घोडगधा, गौरीगाईलगायतका जनावर र पंक्षी हेर्न सकिन्छ । 

जीतपुरसिमरा उपमहानगरपालिकाले निकुञ्जलाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्ने अभियाननै थालेको छ । पर्यटन प्रवद्र्धनकै लागि पूर्वाधार निर्माण र प्रचारमुलक कार्यक्रमलाई आफ्नो वार्षिक योजनामा उपमहानगरपालिकाले राखेको छ ।

यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ बाराले पर्यटकलाई आकर्षित गर्नका कार्यक्रम गरिरहेको छ ।पर्यटन प्रवद्र्धननै समृद्धिको मुख्य आधार रहेको निष्कर्ष निकाल्दै स्थानीय तह र होटल तथा पर्यटन व्यवसायी संघले पर्यटन लक्षित कार्यक्रमलाई प्राथमिकता दिइरहेका छन् । पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम, प्रचार र पूर्वाधार तयार हुन थालेपछि निकुञ्ज पर्यटकको गन्तव्य बन्न थालेको हो। 

प्रतिक्रिया दिनुहोस्