जसपा नेपाल बाराको अध्यक्षमा यादव निर्वाचित


eShilalekh

२२ बैशाख २०८२, सोमबार १०:४३

सिमराः जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको अध्यक्षमा रमेशकुमार यादव निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा यादव नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

पचरौता नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका यादवले दुई सय ६९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार धर्मबीरप्रसाद यादवले एक सय ७५ मत पाएका छन् । यादव ९४ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा यादव समूहकै शिवेन्द्र प्रताप सिंह र पुनम कुशवाहा निर्वाचित भएका छन् । महागढीमाई नगरपालिका ७ का वडाध्यक्ष समेत रहेका सिंह दुई सय ५३ र कुशवाहा दुई सय ४६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उपाध्यक्षका अर्का दुई उम्मेदवार म. मुरतुजा अन्सारीले एक सय ९९ र सुरेन्द्रप्रसाद साहले एक सय ८९ मत पाएका छन् ।

सचिवमा दुई सय ६१ मत प्राप्त गर्दै शम्भुकुमार गुप्ता निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार मुकेशकुमार पाण्डेले एक सय ९२ मत पाएका छन् ।

यसैगरी सहसचिवमा सिकेन्द्र दास र नन्दन गुप्ता निर्वाचित भएका छन् । दासले दुई सय ७२ र गुप्ताले दुई सय ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सहसचिवका अन्य दुई उम्मेदवार धनसुनर यादवले एक सय ४६ र सुनैनाकुमारी चौधरीले एक सय ३५ मत प्रात गरेका छन् ।

कोषाध्यक्षमा दुई सय ६८ मत प्राप्त गर्दै विनोदप्रसाद यादव निर्वाचित भएका छन् । कोषाध्यक्षका अर्का उम्मेदवार शारदा यादवले एक सय ६० मत पाएका छन् ।

नेतृत्व चयनका लागि भएको निर्वाचनमा चार सय ७२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्