एमालेले मधेश प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने

सिमराः नेकपा एमालेले मधेश प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने भएको छ । एमाले मधेश प्रदेशको आयोजना र केन्द्रीय पार्टी स्कुल बिभागको सहयोगमा बर्दिवासमा शुरु भएको दुई दिने प्रदेश स्कुल सन्चालन सम्बन्धि कार्यशालामा यस्तो निर्णय गरिएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय स्कुल बिभाग प्रमुख प्रदीप ज्ञावालीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यशाला शनिबारसम्म चल्ने छ ।
एमालेले उच्च तह, माध्यमिक तह र आधारभुत तह गरि तीन खालका स्कुल सञ्चालनको अवधारणा ल्याएको र सोही अनुसार आधारभुतहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले जानकारी दिए ।
माक्सबादी दर्शन, समाजबादी अर्थ ब्यवस्था, समाजबादको आधार, समाजबाद, राज्य र कम्युनिष्ट पार्टिका बारेमा मधेश प्रदेशमा हाल रहेका ६० हजार सदस्यलाइ प्रशिक्षण दिइने पौडेलले बताए ।
कार्यशालालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताए । लोकतन्त्रको विकल्प राजतन्त्र नहुने समेत स्पष्ट पारे ।
कार्यक्रममा एमाले मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्य रामशरण प्याकुरेल, मधेशका स्कुल विभाग प्रमुख शंकर महतोलगायतले मन्तव्य राखेका थिए । गोष्ठीमा जनसङगठनका प्रदेश अध्यक्षको सहभागिता रहेको छ ।
मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव पौडेलले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्य राखेका थिए ।