प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित


रामप्रसाद अधिकारी

१९ जेष्ठ २०८२, सोमबार २१:२७

अमेरिका: प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन टेक्सासको ड्यालस सहरमा सम्पन्न भएको छ। अधिवेशनले छवि पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै संगठनको आगामी नेतृत्वलाई औपचारिकता दिएको छ।

अध्यक्ष पदको लागि भएको प्रतिस्पर्धामा निवर्तमान उपाध्यक्ष गोपाल कँडेल, सचिव छवि पाण्डे र उपसचिव डा. थोमस बास्तोलाबीच मतदान भएको थियो। निर्वाचनबाट पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अन्य सबै पदमा निर्विरोध निर्वाचित गरिएको थियो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना र सञ्जयसिंह केसी चुनिएका छन् । त्यस्तै सचिवमा बिजयराज भट्टराई र उपसचिवमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त र उपेन्द्र राउत चयन भएका छन् ।

सदस्यहरूमा अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन र गणेशप्रसाद पौडेललाई चयन गरिएको छ ।

प्रवासी हक–हितका लागि संगठनको प्रतिबद्धता
अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गरेका थिए । थापाले प्रवासी नेपालीहरूको हक अधिकार सुनिश्चित गर्न संगठित पहल आवश्यक रहेको उल्लेख गर्दै मञ्चले विश्वभर छरिएर रहेका नेपालीहरूको आवाज बुलन्द बनाउँदै आएको बताए ।

कार्यक्रममा सचिवालय सदस्य प्रभु थापाले संस्थामा अनुशासन र पारदर्शी पद्धति कायम राख्दै सामाजिक अभियानमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले अमेरिका केन्द्रीत गतिविधिमा संगठनको ध्यान केन्द्रित हुनुपर्ने विषयमा जोड दिए ।

सांस्कृतिक कार्यक्रमसहित भव्य समारोह
उद्घाटन सत्रमा गोकर्ण दाहालको संयोजनमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमसहित सम्पन्न दुई दिने अधिवेशनमा दुई सय ३५ जना प्रतिनिधि र ११ जना पर्यवेक्षक उपस्थित थिए। कार्यक्रममा संस्थामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

अधिवेशन समापनका क्रममा नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै एकतामा बल दिने घोषणासहित नयाँ कार्ययोजना अघि सार्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्