मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने : सभापति देउवा

जनकपुरधाम: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। जनकपुरधामस्थित कांग्रेसको मधेश प्रदेश कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आलोपालो सरकार बनाउने सहमतिअनुसार कांग्रेस नेतृत्वमा सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बताएका हुन्।
‘आलोपालो सरकार बनाउने सहमति भएकै हो, त्यसअनुसार अब छिट्टै सत्ता साझेदार दलहरूसँग छलफल गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाइन्छ,’ देउवाले भने । प्रदेश सरकार गठनबारे कांग्रेसले आफ्नो जिम्मेवारी वहन गर्ने र सहमतिको आधारमा प्रक्रिया अगाडि बढाउने देउवाले स्पष्ट पारे। उनले सत्ता सहयात्री दलहरूसँग चाँडै औपचारिक छलफल गरिने बताए।
पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।