ड्यालस महावाणिज्यदूतावासमा आएका पदाधिकारीलाई टेक्सासमा स्वागत

टेक्सास (अमेरिका): अमेरिकाको ड्यालसस्थित हालै स्थापना गरिएको महावाणिज्यदूतावासमा पदस्थापन भएका महावाणिज्यदूतसहितका कर्मचारीलाई नेपाली समाज टेक्सासले स्वागत गरेको छ । टेक्सासको युलेशस्थित पशुपतिनाथ मन्दिरको सभाहलमा नेपाली समाज टेक्सासले कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको हो ।
समाजले महावाणिज्यदूत सुरेश अधिकारी र उपसचिव धनकुमारी जोशीलाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा महावाणिज्यदूतावास स्थापना गर्ने नेपाल सरकारको निर्णयको प्रशंसा गरे । नेपाली समुदायले लामो समयदेखि माग गर्दै आएको र अहिले नेपाल सरकारले सम्बोधन गरेको वाग्लेले बताए ।

सरकारले ड्यालस र सान फ्रान्सिस्कोमा महावाणिज्यदूतावास स्थापना गर्ने निर्णय केही महिना अघि गरेको थियो । उक्त निर्णय कार्यान्यवनको प्रक्रियामा छ । अमेरिकी सरकारले प्रक्रिया पूरा भएपछि दूतावास स्थापना हुनेछ । महावाणिज्यदूतसहितको टोलीले अहिले दूतावासको कुन ठाउँमा स्थापना गर्ने भन्ने अध्ययन गरिरहेको छ ।
स्वागत कार्यक्रममा अध्यक्ष वाग्लेले टेक्सासमा नेपाली समुदायले गरेका विविध सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधि समेटिएको स्मारिका महावाणिज्यदूत अधिकारीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा युलेश सिटीका उपप्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सिता सापकोटा, नेपाली समाज टेक्सासका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष नेत्र पाण्डे, भानू खरेल, टेक्सास च्याप्टर अध्यक्ष दीपेन्द्र गुरागाई, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अष्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका ओम लामिछाने, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी र सचिव शंकर थापालगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव विजय भूषालले गरेका थिए ।
