जीतपुरसिमरामा अस्तित्व गुमाएर तालमेल नगर्ने कांग्रेस र माओवादीको संकेत, एमाले एक्लै चुनाव लड्ने


eShilalekh

२३ चैत्र २०७८, बुधबार १२:३३

सिमरा:  स्थायी सरकारको रुपमा रहेको स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गएसंगै बारामा चुनावी सरगर्मी बढ्दो छ । बैशाख ३० गतेका लागि ताकिएको निर्वाचनलाई लक्षित गरेर राजनितिक दलको गतिविधि चुनाव केन्द्रीत हुन थालेका छन् ।

राजनितिक दलको सक्रियता शहरदेखी गाँउसम्म बढ्न थालेको छ । घरदैलो, कार्यकर्ता भेटघाट, पार्टी प्रवेश, पार्टी तथा चुनावी सम्पर्क कार्यालय उद्घाटनलगायतका गतिविधिलाई राजनितिक दलले प्राथमिकता दिएका छन् । मतदाता रिझाउन घरैसम्म पुग्ने अभियान चलाईरहेका राजनितिक दलले जिल्लादेखी वडातहसम्मका अगुवा कार्यकर्ता परिचालनलाई तिब्र बनाउन थालेका छन् ।

राजनितिक दलका यि गतिविधिले चुनावी सरगर्मी बढाएसंगै आमनागरिकमा भने उम्मेदवारको विषयले चर्चा पाउन थालेको छ । तर राजनितिक दलले अहिले उम्मेदवारको विषयलाई गौण राख्न चाहेका छन् । चुनावमा असर नपर्ने गरी उम्मेदवार चयन प्रक्रिया अघि बढाउनुपर्ने राजनितिक दलको केन्द्रीय धारणा देखिन्छ । दलको धारणा फरक भएपनि आमनागरिक र स्थानिय स्तरमा उम्मेदवार ‘को बन्छ’ भन्ने विषय नै अहिले चर्चामा छ ।

शहरदेखी गाँउटोलसम्मको चियापसल, चोकचौतारामा अहिले सम्भावित उम्मेदवारको चर्चा हुने गर्दछ । पार्टीको आन्तरिक निर्णयका कारण उम्मेदवारका आकांक्षीले सार्वजनिकरुपमा बोल्न नसकेपनि भित्रभित्रै चर्चा चलाउन थालेका छन् । वडादेखी पालिका तहसम्मका उम्मेदवारका आकांक्षी आफ्नो पक्षमा जनमत बढाउने रणनितिमा रहेपनि पार्टीको निर्णय पर्खन बाध्य छन् ।

पार्टीको निर्णयनै अन्तिम रहने भएकाले उम्मेदवारका आकांक्षी समेत अन्यौलमा छन् । केन्द्रीय तहमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु स्थानिय तहसम्मै मिलेर चुनाव लड्ने तयारी गरिरहेका छन् । यसो भएमा कुन तहमा कुन दलले नेतृत्व गर्छ भन्ने विषय भागबण्डापछि मात्रै टुंगो लाग्नेछ । ठुलो शक्तिको रुपमा रहेकोे नेकपा एमाले भने अहिलेसम्म एक्लै चुनाव लड्ने तयारीमा छ ।

केन्द्रीय तहमा हुने निर्णय पर्खन बाध्य जिल्लास्थित राजनितिक दलका नेताकार्यकर्ता भने आफ्नो अस्तित्व गुमाउन चाहदैनन् । तालमेलको नाममा लामो समयदेखी राजनिति गर्दै आएको क्षेत्र र तह अर्को पार्टीको उम्मेदवारलाई सुम्पिन दलका नेताकार्यकर्ता मानसिक रुपमा तयार देखिदैनन् ।

पार्टीले अस्वित्व गुमाउने गरी निर्णय गरे स्विकार्न नसकिने प्रष्टोक्ती समेत दलका नेताकार्यकर्ताले दिन थालेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीको प्रभाव बढी छ । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ वटा गाँउपालिका गरी १६ वटा स्थानिय तहमा माओवादीबाहेक सबै दलका जनप्रतिनिधि नेतृत्व तहमा छन् ।

गठबन्धनमा रहेका दलबाट उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहेका आकांक्षीहरु आफ्नो प्रभाव रहेको क्षेत्रमा आफ्नै पार्टीले नेतृत्व लिनुपर्ने अन्यथा स्विकार्न नसिकने अवस्था रहेको बताउन थालेका छन् । जिल्लाको १६ स्थानिय तहमध्येको एक जीतपुरसिमरा उपमहानगरपालिकामा सम्भावित तालमेलको विषयले अहिले चर्चा पाउन थालेको छ ।

स्थानिय तहको २०७४ सालको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जित हात पारेको थियो । एमालेले प्रमुख र उपप्रमुख जित्दा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो अवस्थामा रहेका थिए । उक्त निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेलको चर्चा थियो । तर दुवै पार्टीले प्रमुखमा दावी नछोडेपछि तालमेल हुन सकेको थिएन ।

उक्त निर्वाचनको मतपरिणाम हेर्ने हो भने प्रमुख पदमा कांग्रेस र माओवादीबीच सात सय ४४ मतको मतान्तर देखिन्छ । कांग्रेसले प्रमुख पदमा ११ हजार नौ सय ९५ मत प्राप्त गर्दा माओवादी केन्द्रले ११ हजार दुई सय ५१ मत पाएको थियो । एमालेले भने १४ हजार आठ सय ६५ मत ल्याउदै फराकिलो मतान्तरले जित हात पारेको थियो ।

उक्त मतपरिणामलाई आधार बनाएर दुवै पार्टीको नगरस्थित नेताले प्रमुख पदमा आफ्नै पाटीको दावी रहेको बताउन थालेका छन् । केन्द्रीय गठबन्धनले स्थानिय तहमा तालमेल गरेर अघि बढ्ने संकेत गरेपछि दुवै पार्टीका नगरस्थित नेताले आफ्नो दावी प्रस्तुत गर्न थालेका हुन् ।

नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितीका पूर्वसभापति श्यामबाबु गुप्ताले कांग्रेसले प्रमुख पद नछाड्ने बताएका छन् । अघिल्लो निर्वाचनको मतपरिणामले एमालेपछिको दोस्रो ठुलो दल भएको आधारमा आफ्नै पार्टीले प्रमुख पद पाउनुपर्ने गुप्ताको तर्क छ ।

कांग्रेसबाट नगरको प्रमुख पदको आकांक्षी समेत रहेका गुप्ताले गठबन्धनका नाममा अस्तित्व गुमाएर अघि बढ्न नसकिने बताए । उनले कांग्रेसलाई प्रमुख दिएर माओवादी उपप्रमुखमा आए तालमेललाई स्विकार्न सकिने अन्यथा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । स्थानिय नेताको भावना वेवास्था गर्दै केन्द्रले गठबन्धन गरे त्यसलाई स्विकार्न नगर्ने गुप्ताको भनाई छ ।

‘कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ । कुनै दलसंगको तालमेल आवश्यक छैन्’ गुप्ताले भने ‘तर केन्द्रीय निर्णयअनुसार गठबन्धन हुन्छ भने कांग्रेसले प्रमुख पद छाड्न सक्दैन् । प्रमुख पद माओवादीलाई छाडेर कांग्रेस उपप्रमुख पद लिएर बस्दैन् । ‘

यता नेकपा माओवादी केन्द्रबाट अघिल्लो निर्वाचनमा प्रमुख पदको उम्मेदवार रहेका राजन पौडेलले आफ्नो पार्टीको दावी कायम रहने बताएका छन् । देशभरीको ११ वटा उपमहानगरपालिकामध्ये जीतपुरसिमरामा माओवादीले अघिल्लो निर्वाचनमा ल्याएको मतपरिणामनै प्रमुख पद प्राप्त गर्ने मुख्य आधार रहेको पौडेलको भनाई छ ।

यसपटक पनि प्रमुख पदको आकांक्षी रहेका पौडेलले प्रमुख पदमा प्राप्त मतले माओवादी तेस्रो भएपनि वडाध्यक्षलाई प्राप्त मतपरिणाम र निर्वाचित जनप्रतिनिधिको संख्या हर्ने हो भने कांग्रेस भन्दा माथिल्लो अवस्थामा रहेको बताए । देशभरको स्थानिय तहमध्ये माओवादी बलियो अवस्थामा रहेको स्थानिय तह जीतपुरसिमरा भएकाले आफूहरुले दाबी नछाड्ने पौडेलको भनाई थियो ।

‘जीतपुरसिमरा माओवादीको पकड भएको क्षेत्र हो । यो क्षेत्रमा हाम्रो दावी स्वभाविक हो’ पौडेलले भने ‘केन्द्रीय तालमेल भएपनि यो तह माओवादीलाई छोड्नुपर्छ । जिल्लामा अर्को उपमहानगर पनि छ । भागबण्डा गर्दा जहाँ जसको पडक छ त्यसलाई छोड्ने हो ।’ केन्द्रले तालमेल गर्दा यि कुरा ध्यानमा राख्नुपर्ने पौडेलको तर्क छ ।

वडागत मतपरिणाम हेर्ने हो भने माओवादीले १० वडामा जित हात पार्दा एमालेले सात, कांग्रेसले पाँच र राजपाले दुई वडाध्यक्ष जितेको थियो । उक्त मतपरिणाम अनुसार वडाअध्यक्षले प्राप्त गरेको मतमा एमाले (१४०१३) पहिलो, माओवादी (१२०८९) दोस्रो र कांग्रेस (१०३८४) तेस्रो अवस्थामा देखिन्छ । माओवादीले जितेको १० मध्ये एक वडाअध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने राजपाका दुई वडाध्यक्ष लोसपामा छन् ।

तर नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्माले भने वडाको मतलाई आधार बनाउन नसकिने बताएका छन् । ‘वडाध्यक्षले प्राप्त गरेको मत भन्दा पनि प्रमुखमा प्राप्त गरेको मतलाई हामीले हेर्ने हो’ शर्माले भने ‘उक्त मतपरिणाममा कांग्रेस दोस्रो हो । हामीले प्रमुख पदमा दावी गर्छौ । तेस्रो हुन्थ्यौ भने हाम्रो दावी हुदैनथ्यो ।’

सभापति शर्माले नगर प्रमुख पदमा कांग्रेसको दावी रहेको र त्यसैअनुसार केन्द्रमा समेत छलफल भईरहेको बताए । केन्द्रीय गठबन्धनको आधिकारिक निर्णय आएपछि मात्रै नगर समितिले त्यस विषयमा सोच्ने भन्दै शर्माले माओवादीलाई प्रमुख पद दिएर अघि बढ्ने विषयमा कहि कतै छलफल नभएको बताए ।

माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल भने माओवादीको सम्मान हुने गरी निर्णय नभए एक्लै चुनावमा जान सक्ने अधिकार रहेको प्रतिक्रिया दिएका छन् । ‘हामीले केन्द्रमा तथ्यसहित दावी पेश गरिरहेका छौ । जीतपुरसिमरा हामीले प्राप्त गर्ने आधार प्रशस्तै छन्’ बरालले भने ‘यदि हामीले भनेजस्तो निर्णय नभए एक्लै चुनाव लड्न हामी सक्षम छौ । यो कुरा समेत जानकारी गराएका छौं ।’

केन्द्रीय सरकारको गठबन्धनमा रहेको अन्य दलको भने जीतपुरसिमरामा चर्चा र दावी देखिएको छैन् । गठबन्धनबीच तालमेल भए प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादीबीच भागबण्डा हुने निश्चित छ ।

दलहरुबीच गठबन्धन र तालमेलको चर्चा भईरहेपनि एमाले भने एक्लै चुनाव लड्ने मनस्थितीमा छ । एमाले नगर कमिटीका अध्यक्ष भोला अधिकारीले गठबन्धन भन्दा पनि जनता एमालेको पक्षमा रहेको दाबी गरे । एमालेप्रतिको जनलहरले पुनः जित सुनिश्चित रहेको भन्दै अधिकारीले एमाले एक्लै चुनाव लड्ने बताए । एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको स्थानिय तह कोल्हबी र जीतपुरसिमरा हो । एक्लै चुनाव लड्ने तयारीमा रहेको एमालेभित्र प्रमुख र उपप्रमुख पदको आकांक्षी भने थुप्रै देखिएका छन् ।

जीतपुरसिमरामा कुन दलबाट को छन् त आकांक्षी ?

नेकपा एमाले

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि यतिबेला थुप्रै नेताको नाम चर्चामा छ । नगर प्रमुखमा निर्वाचित डा. कृष्ण पौडेलले नदोहोर्‍याउने संकेत गरिसकेका छन् । डा. पौडेलले नदोहोर्‍याउने भएपछि प्रमुख पदका लागि अहिले उपप्रमुख सरस्वतीदेवी चौधरी, एमाले नेता मनोज पौडेल, भोला अधिकारी, कासिम हुसेनको नाम अधिक चर्चामा छ । यसबाहेक राधेश्याम शिवाकोटी र नारायणबहादुर क्षेत्रीको नाम पनि प्रमुख पदको आकांक्षीको रुपमा चर्चा गर्न थालिएको छ ।

आकांक्षी धेरै देखिएपछि उम्मेदवार चयन प्रक्रिया एमालेका लागि कठिन हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा पनि नेता मनोज पौडेल नगर प्रमुखको दौडमा थिए । यसपटक पनि उनले दावीलाई निरन्तरता दिएका छन् । पार्टीको पूर्व प्रचार विभाग प्रमुख रहेका पौडेल हाल एमाले बाराको सचिवालय सदस्य हुन् ।

पौडेलबाहेक उपप्रमुखको भूमिकामा एक कार्यकाल पूरा गरेकी चौधरी प्रमुख बन्ने दौडमा देखिएकी छिन् । चौधरी एमाले केन्द्रीय कमिटी सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज हुन् । यसैगरी नगर कमिटीको अध्यक्ष समेत रहेका अधिकारी पनि एमालेभित्रका अर्का आकांक्षी हुन् । पिपरा सिमरा गाविसको पूर्वअध्यक्ष समेत रहेका अधिकारी एमाले जिल्ला कमिटी सदस्य समेत हुन् ।

सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नेतृत्वमा चारपटक निर्वाचित कासिम हुसेन पनि प्रमुख पदको आकांक्षीको चर्चामा छन् । हुसेन पनि एमालेको जिल्ला कमिटी सदस्य हुन् । एमालेका पुराना नेता राधेश्याम शिवाकोटी र नारायण क्षेत्री समेत प्रमुखको दौडमा रहेको चर्चा सुनिन्छ । शिवकोटी र क्षेत्री एमालेका पुराना नेता हुन् ।

प्रमुखको तुलनामा उपप्रमुखको खासै चर्चा देखिदैन् । प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य छ । पुरुषलाई प्रमुखको उम्मेदवार बनाए महिला उपप्रमुख अनिवार्य छ । महिलालाई प्रमुख बनाए उपप्रमुख पदमा महिला वा पुरुष दुवै उम्मेदवार बन्न सक्नेछन् । उपप्रमुख पदमा अमृत शर्मा बजगाईको नाम चर्चामा सुनिएको छ । बजगाई एमाले जिल्ला कमिटी उपसचिव हुन् ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसभित्र पनि थुप्रै आकांक्षी देखिएका छन् । कांग्रेसबाट प्रमुख पदका लागि अहिले प्रमुख दावेदारका रुपमा श्यामबाबु गुप्ताको नाम चर्चामा छ । गुप्ता अघिल्लो निर्वाचनमा पनि चर्चामा थिए ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका गुप्ताले आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् । जीतपुरसिमरा नगर समितीको सभापति भएर काम गरेका गुप्ता कांग्रेस महासमिति सदस्य समेत हुन् ।

गुप्तासंगै गत वर्षको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका कृष्णब्रत सिंहको नाम चर्चामा छ । सिंह संस्थापन ईतर समुहका नेता हुन् । यसैगरी कांग्रेसबाट प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका ओमकृष्ण कार्की, उपप्रमुखको उम्मेदवार बनेकी नारायणी रायमाझीको नाम प्रमुख पदको आकांक्षाीको रुपमा चर्चामा छ ।

कार्की बारा क्षेत्र नंं ४ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार भएका थिए । प्रदेश सभा निर्वाचनमा पराजित भएका कार्की अब नगर प्रमुखको उम्मेदवारको दौडमा उभिएका छन् । प्रमुख पदको उम्मेदवारका लागि रायमाझी एक मात्रै महिलाको नाम चर्चामा छ ।

अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा रायमाझी एमालेकी उम्मेदवार सरस्वती देवी चौधरीसंग पराजित भएकी थिईन् । गतवर्षको चुनावमा पराजित भएपनि रायमाझीले यसपटक प्रमुख पदमा दावी गरेकी छिन् । उपप्रमुखमा कांग्रेसबाट मेघा शाहीको नाम चर्चामा छ ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि अहिले सबैभन्दा बढी राजन पौडेलको नाम चर्चामा छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार भएका पौडेल तेस्रो भएका थिए ।

एमालेका डा. पौडेल पहिलो, कांग्रेसका सिंह दोस्रो र पौडेले तेस्रो भएका हुन् । माओवादी केन्द्रभित्रको प्रभावशाली नेताको रुपमा पहिचान बनाएका पौडेल माओवादी केन्द्रबाट उम्मेदवार बन्ने बढी सम्भावना बोकेका नेता हुन् ।

पौडेलबाहेक माओवादी केन्द्रबाट संविधान सभाका सदस्य जयराम दहाल र माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको नाम चर्चामा छ । दाहाल २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचित सभासद हुन् । यसैगरी श्रेष्ठ २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा संविधान सभा सदस्य पदका उम्मेदवार हुन् । उक्त निर्वाचनमा उनि पराजित भएका थिए ।

पौडेलसंगै दाहाल र श्रेष्ठको नाम चर्चामा रहेकाले उम्मेदवार चयन प्रक्रिया माओवादीलाई पनि कठिन देखिन्छ । अघिल्लो निर्वाचनको प्रत्याशी भएका कारण पौडेलले यसपटक पनि बलियो उम्मेदवारको रुपमा आफूलाई उभ्याउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्