एनआरएनए टेक्सास च्याप्टरको अध्यक्षमा निलेश श्रेष्ठ विजयी, कोलोराडो र पेन्सिलभेनियामा पनि निर्वाचन सम्पन्न

ड्यालस (अमेरिका): गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत टेक्सास च्याप्टरको अध्यक्ष पदको लागि सम्पन्न निर्वाचनमा निलेश श्रेष्ठ विजयी भएका छन्। जुलाई २७ र २८ मा सम्पन्न निर्वाचनमा श्रेष्ठले सात सय ८५ मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
श्रेष्ठका प्रतिद्वन्द्वी गोविन्द गौतमले ६ सय २१ मत प्राप्त गरेका थिए भने इश्वर ढकालले ७२ मत प्राप्त गरेका थिए। निर्वाचन समितिका अनुसार १८ मत `कसैलाई पनि मतदान गर्दिन´ भन्ने श्रेणीमा परेका थिए। यसअघि अध्यक्ष बाहेक टेक्सास च्याप्टरका अन्य सबै पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका थिए।
निर्वाचनपश्चात् नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गैरआवासीय नेपाली संघ टेक्सास च्याप्टरलाई नेपाली समुदायको आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता जनाए। उनले भने `हामी मतदातालाई मात्र निर्वाचनको समयमा भेट्ने प्रवृत्तिको अन्त्य गर्दै, सम्पूर्ण टेक्सासका नेपालीहरूसँग निरन्तर सम्बन्ध विस्तार गर्दै अघि बढ्नेछौं।´
श्रेष्ठले टेक्सास च्याप्टरलाई ड्यालस–फोर्टवर्थ क्षेत्रमै सीमित नगरिकन टेक्सासभरका प्रमुख स्थानहरूमा कार्यक्रम सञ्चालन गर्ने, विभिन्न नेपाली संघसंस्थासंग सहकार्य गर्दै ‘नेपालीका लागि नेपाली’ अभियानलाई विस्तार गर्ने योजना रहेको स्पष्ट पारे।
पराजित उम्मेदवारहरू गोविन्द गौतम र ईश्वर ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई बधाई दिँदै शुभकामना दिएका छन्। श्रेष्ठले पनि गौतमको नेपाली समुदायप्रतिको योगदानको प्रशंसा गर्दै भविष्यमा सल्लाह सुझावसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन सकिएपछि टेक्सासको युलेसस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित औपचारिक कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् तथा टेक्सास च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
कोलोराडो र पेन्सिलभेनियामा पनि निर्वाचन
यसैबीच, एनआरएनए अमेरिकाको अन्य दुई च्याप्टर—कोलोराडो र पेन्सिलभेनियामा पनि अध्यक्ष तथा सचिव पदका लागि निर्वाचन सम्पन्न भएको छ।
कोलोराडो च्याप्टरको अध्यक्ष पदमा चन्द्र प्रकाश गुरुङ एक सय ४५ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी दिनेशकुमार श्रेष्ठले ७३ मत प्राप्त गरेका थिए। सचिव पदमा भुवन सापकोटा एक सय ४९ मतसहित विजयी बनेका छन् भने अर्जुनकुमार कार्कीले ६९ मत पाएका थिए।
पेन्सिलभेनिया च्याप्टरको अध्यक्ष पदमा नविन लामा एक सय ४८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रकाश भाईले एक सय ४२ मत प्राप्त गरेका थिए।
गैरआवासीय नेपालीहरूको सहभागिता, प्रतिस्पर्धा र सहकार्यको भावना झल्किने गरी सम्पन्न भएका यी निर्वाचनहरूले एनआरएनए च्याप्टरहरूलाई अझ सक्रिय र प्रभावकारी बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।