डालसको पशुपतिनाथ मन्दिरमा हरितालिका तीज सम्पन्न

टेक्सास (अमेरिका): नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज यस वर्ष अमेरिकाको डालसस्थित युलेशको श्री पशुपतिनाथ मन्दिरमा विगतका वर्षभन्दा अझ बढी महिलाहरूको सहभागितासहित सम्पन्न भएको छ।
पर्वलाई मध्यनजर गर्दै मन्दिर दिनभरका लागि खुला गरिएको थियो। बिहानैदेखि डालस–फोर्टवर्थ क्षेत्रका ब्रतालु महिलाहरू पशुपतिनाथ मन्दिर र नजिकैको बुद्ध बिहारमा पूजापाठका लागि भीड लागेको थियो। पूजामा सहजता होस् भनेर यसअघि नै नाम दर्ता गर्ने व्यवस्था गरिएको थियो। मन्दिर कार्यकारी समितिकी अध्यक्ष सीता सापकोटाका अनुसार करिब ७ सय महिलाले विधिपूर्वक पूजा गरेका थिए। स्थानको अभाव र भीड व्यवस्थापनका कारण पूजालाई पाँच चरणमा सम्पन्न गरिएको थियो।
पूजा नगरी केवल दर्शन गर्ने महिलाहरूको संख्या पनि उल्लेखनीय रहेको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए। साँझ अबेरसम्म व्रत बसेका महिलाहरू मन्दिर प्राङ्गणमा तीजका गीत गाइदै, नाचगानमा रमाउँदै पर्वको उल्लासमा डुबेका थिए। सहभागी महिलाहरूले “मन्दिर भएकै कारण हामीले हाम्रा चाडपर्वहरू मनाउन पाएका छौं” भन्ने भावना व्यक्त गरे भने, सहभागी लक्ष्मी गुरागाईंले पूजा सहज बनाउन खटिएका सम्पूर्ण स्वयंसेवकलाई धन्यवाद दिएकी थिइन्।
मन्दिर कार्यसमितिले यसै सन्दर्भमा ऋषिपञ्चमी पर्व बिहीबार बिहान विशेष पूजासहित मनाइने जानकारी दिएको छ। विशेष पूजा गर्न चाहने महिलाहरूले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ।
हाल डालस–फोर्टवर्थ क्षेत्रमा करिब ८० देखि ८५ हजार नेपालीहरू बसोबास गरिरहेका छन्, जसका कारण यहाँका धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा उल्लेखनीय सहभागिता देखिन्छ। हरितालिका तीजको यस भव्य उत्सवले नेपाली समुदायमा एकता, आस्था र सांस्कृतिक गौरवको सन्देश फैलाएको छ।