मधेश प्रदेशमा भारी वर्षा र बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

सिमराः जल तथा मौसम विज्ञान विभागले मधेश प्रदेशसहित देशका केही प्रदेशहरूमा मनसुनी गतिविधि तीव्र हुँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले सूचना जारी गर्दै असोज १७ गतेदेखि २० गतेसम्म देशका मधेश, बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी प्रणाली सक्रिय हुने अनुमान गरेको छ ।
बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भूभाग हुँदै पश्चिम सर्दै गर्दा नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गर्ने र त्यसको असर स्वरूप वर्षा तीव्र हुने पूर्वानुमान गरिएको छ ।
मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाबाट बहने नारायणी, बागमती, कमला र कोशी नदी तथा ती नदीका सहायक खोलानालाहरूमा बहाव उल्लेख्यरूपमा बढ्ने देखिएको छ । यी नदीहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
चुरे क्षेत्र हुँदै बग्ने साना खोलानालामा समेत आकस्मिक बाढी आउने खतरा उच्च रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विभागले यस वर्षाका कारण बाढी, डुबान, भू–क्षय, पहिरो लगायतका घटनाहरूले सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाएको छ ।
यसैगरी विभागले सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वतयारीका उपायहरू अपनाउन, जनस्तरमा सूचनाको प्रवाह बढाउन र आपतकालीन व्यवस्थापन संयन्त्रहरूलाई तयारी अवस्थामा राख्न सबै सरोकारवाला निकायहरूलाई अपिल गरेको छ ।
