पर्सामा कर्फ्यु हट्यो, केही क्षेत्रमा निषेधाज्ञा लागू

वीरगन्जः पर्सामा जारी कर्फ्यु आदेश हटाइएको छ भने वीरगन्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला सुरक्षा समितिको सोमबारको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि कर्फ्यु हटाइएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगन्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म भेला, सभा, जुलुस र प्रदर्शनमा रोक लगाइएको छ। प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने जानकारी दिएको छ।
आइतबार साँझ दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश जारी गरेका थिए।प्रशासनले व्यक्तिगत विवादलाई साम्प्रदायिक रुपमा फैलाउन खोज्ने र सामाजिक सञ्जालमा घृणास्पद तथा अनधिकृत सामग्री पोस्ट गर्नेहरुलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने निर्णय पनि गरेको छ।
साथै, घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र धार्मिक सहिष्णुता कायम गर्न धार्मिक अगुवा, नागरिक समाज र राजनीतिक दलबीच सहकार्य हुने बताइएको छ।
निषेधाज्ञा लागू क्षेत्र पूर्वमा बाईपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक रहेको प्रशासनले जनाएको छ। सबै नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न प्रशासनले आग्रह गरेको छ।







