केन्द्रीय सदस्यमा उम्मेदवारी, पार्टीप्रतिको जिम्मेवारी: किसान श्रेष्ठ


eShilalekh

२९ मंसिर २०८२, सोमबार २१:२८

सिमरा: ११औं महाधिवेशनको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको नेकपा एमालेले मंगलबार पौष १ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्दैछ। महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदका उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ (किसान) यतिबेला प्रतिनिधिहरूबीच सक्रिय भएर लागेका छन् ।

श्रेष्ठ पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी हालै नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किएका हुन् ।

कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका श्रेष्ठ पार्टी विभाजनको क्रममा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए। एकीकृत समाजवादी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि उनी पुनः एमालेमा फर्किएका हुन्।

उम्मेदवारी दर्ता गरेपछी सामाजिक संजालमार्फत आफ्नो राजनीतिक यात्रा पुनः पुरानो घरबाट सुरु गरेको अनुभूति व्यक्त गर्दै श्रेष्ठले पार्टीका नेता र कार्यकर्ताबाट पाएको माया, विश्वास र सम्मानलाई ठूलो शक्ति मानेका छन्।

श्रेष्ठका अनुसार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनु व्यक्तिगत आकांक्षा मात्र नभई पार्टीप्रतिको जिम्मेवारी रहेको बताए । उनले पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणका लागि केन्द्रीय तहबाट अझ प्रभावकारी भूमिका बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै श्रेष्ठले विवेक प्रयोग गरी अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।प्रतिनिधिहरूको विश्वास र समर्थन पाए केन्द्रीय सदस्यका रूपमा पार्टी हितमा इमानदार ढंगले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्