परवानीपुरको नहरमा एक पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सिमरा: बाराको परवानीपुरमा बुधबार दिउँसो नहरमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
परवानीपुर गाउँपालिका ४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा उक्त शव फेला परेको हो। कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय परवानीपुर तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले कालो पाइन्ट र पहेँलो कुर्ताजस्तो सर्ट लगाएको, उचाइ करिब ५ फिट ६ इन्च रहेको र नाम अजय यादव हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि मृतकको स्थायी ठेगाना खुल्न सकेको छैन।
हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। मृतकलाई चिन्ने वा आफन्तजनले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





