दुई कन्टेनर सुपारीसहित जीतपुरसिमराका दुई चालक पक्राउ

सिमराः पर्सा प्रहरीले अवैध रहेको आशंकामा दुई कन्टेनर सुपारीसहित दुई चालकलाई नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका २ बाईपास रोडस्थित एक दाल मिलमा सुपारी अनलोड गरिरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले सुपारीसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाराको जीतपूरसिमरा उपमहानगरपालिका २० का ४१ वर्षीय राम भरोस महरा र वडा न. १९ का ५१ वर्षीय रामप्रसाद यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार वीरगन्ज भन्सार कार्यालयबाट महोत्तरीका लागि छुटेको ना.७.ख ७४२० र ना.४ख.६८३२ नम्बरको कन्टेनरले वीरगन्जमै सुपारी अनलोड गरिरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुवै कन्टेनरबाट एक हजार आठ सय बोरा सुपारी बरामद भएको र बरामद गरिएको सुपारी कन्टेनरसहित पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।





