मधेशका आठ जिल्लाबाट घुमुवा प्रहरी हटाइयो

सिमराः मधेश प्रदेशका विभिन्न जिल्लामा घुमुवा प्रहरीका कारण अनियमित गतिविधि बढेको जनगुनासोपछि मधेश प्रदेश प्रहरी कार्यालयले कडा कदम चालेको छ। प्रहरी संगठनभित्र पारदर्शिता कायम गर्ने र जनविश्वास मजबुत बनाउने उद्देश्यसहित प्रदेशका आठ जिल्लामा कार्यरत ३१ जना घुमुवा प्रहरीलाई हटाइएको मधेश प्रहरी कार्यालयले जनाएको छ।
पछिल्लो समय घुमुवा प्रहरीको नाममा अवैध असुली, डरत्रास देखाउने, व्यापारी तथा सर्वसाधारणलाई अनावश्यक दबाब दिने, चेकजाँचको नाममा दुर्व्यवहार गर्ने जस्ता गतिविधि बढ्दै गएको भन्दै निरन्तर गुनासो आइरहेका थिए। ती गुनासोलाई गम्भीर रूपमा लिँदै मधेश प्रदेश प्रहरी कार्यालयले यस्तो निर्णय लिएको हो।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोबिन्द थपलियाले घुमुवा प्रहरी हटाइएको पुष्टि गरे । घुमुवा प्रहरीको गतिविधिबारे जनस्तरबाट गम्भीर गुनासो प्राप्त भएको र प्रारम्भिक छानबिनपछि घुमुवा प्रहरी हटाउने निर्णय गरिएको थपलियाले बताए ।





