जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंको गृह मन्त्रालयमा सरुवा


eShilalekh

४ पुष २०८२, शुक्रबार २०:०५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रीपरिषद्को पुष ३ गते बसेको बैठकले ६० सहसचिवको जिम्मेवारी हेरफेर गर्दा प्रसाईंलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।

प्रसाईं २०८१ फाल्गुन २६ गते जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर भएका थिए । प्रसाईंको १० महिना नपुग्दै सरुवा भएको हो । स्रोतका अनुसार प्रसाईं आफैं सरुवा भएर जान खोजिरहेका थिए ।

लामो समय उपसचिव तहका कर्मचारीले चलाएको जीतपुरसिमरामा सहसचिव प्रसाईंले दुई सय ८५ दिन बिताए । उनले यसबीचमा ११औं र १२औं नगरसभा सम्पन्न गर्न सहजीकरण गरे । उनले विवादरहित ढंगले कार्यसम्पादन गर्दै आएका थिए ।

प्रसाईंको सरुवा गरेपनि उनको स्थानमा कसलाई पठाउने निर्णय भने मन्त्रीपरिषद्ले गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्