रौतहटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते


eShilalekh

६ पुष २०८२, आईतवार १४:०९

रौतहट: रौतहटमा शनिबार राति ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५० वर्षीय प्रमोद साह कानु रहेका छन्।

चन्द्रपुर नगरपालिका १० स्थित चन्द्रपुर–गौर सडकखण्डअन्तर्गत गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक कानु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ।

उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै वीरगन्जस्थित न्युरो अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रूपा लाबुङले जानकारी दिइन्।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन्। प्रहरीले घटनास्थल तथा आसपासबाट शंकास्पद दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्