वीरगन्जबाट दुई सय ४० केजी चरेससहित दुई जना पक्राउ

वीरगन्ज: वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका २२ जगरनाथपुरबाट शनिबार राति दुई सय ४० केजी चरेस बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजु कार्कीका अनुसार नियमित सवारी चेकजाँचका क्रममा मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रक रोकेर जाँच गर्दा उक्त परिमाणको चरेस फेला परेको हो। ट्रकको क्याबिनमाथि फल्स बटम बनाएर लुकाइएका एक सय ३६ प्याकेटमा चरेस राखिएको थियो।
चरेससहित ट्रक चालक मकवानपुर थाहा नगरपालिका ११ घर भएका २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार सोही ठाउँका २१ वर्षीय नवराज लो पक्राउ परेका छन्। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।





