एभरग्रीन तराई अस्पतालद्वारा जीतपुरसिमराका २४ वटै वडामा साप्ताहिक स्वास्थ्य शिविर सञ्चालन हुने

सिमरा: एभरग्रीन तराई अस्पताल सिमराले जीतपुरसिमरा उपमहानगरपालिकाका सबै वडाका बासिन्दाहरूलाई लक्षित गर्दै प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
अस्पतालले उपमहानगरपालिकाका २४ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हो।
यस अभियान अन्तर्गत आगामी शनिबार (भोलि) जीतपुरसिमरा वडा नं. २ स्थित अस्पतालकै परिसरमा स्वास्थ्य शिविर आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका चिकित्सा निर्देशक डा. प्रकाश साहका अनुसार शिविरमा सहभागी हुने बिरामीहरूले निःशुल्क ओपिडी (OPD) सेवा र चिकित्सकसँग निःशुल्क परामर्श लिन सक्नेछन्। यसैगरी रगत, पिसाब लगायतका प्रयोगशाला (ल्याब) परीक्षणमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
भिडियो एक्सरे (USG), ईसिजि र एक्सरे जस्ता विभिन्न डायग्नोस्टिक सेवाहरूमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उपचारका क्रममा गरिने विभिन्न प्रक्रिया (Procedure) हरूमा पनि ५० प्रतिशत सहुलियत दिइने चिकित्सा निर्देशक साहले बताए।
प्रत्येक शनिबार फरक-फरक वडामा सञ्चालन हुने यस शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहनेछ। यसले गर्दा स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज र सस्तो दरमा पाउने विश्वास अस्पतालले लिएको छ।
अस्पतालले यो अवसरको लाभ उठाउन र आफ्नो स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण नगरवासीहरूमा अनुरोध समेत गरेको छ।





