एभरग्रिन तराई अस्पतालमा बालस्वास्थ्य केन्द्रीत खेलौना प्रदर्शन कार्यक्रम सम्पन्न

सिमरा: सिमरास्थित एभरग्रिन तराई अस्पतालले बालबालिकाको स्वास्थ्य तथा समग्र विकासलाई लक्षित गर्दै शुक्रबार विशेष खेलौना प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
उमेरअनुसार उपयुक्त खेलौना छनोट, सुरक्षित तथा गुणस्तरीय खेल सामग्रीको प्रवर्द्धन र खेलमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यसहित अस्पतालले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पिसिएल तेस्रो वर्ष नर्सिङकोअर्डिनेटर साक्षी खड्काका अनुसार शिशु अवस्थादेखि किशोरावस्थासम्मका बालबालिकालाई लक्षित गरी विभिन्न शैक्षिक, सिर्जनात्मक तथा विकासमुखी खेलौनाहरू रचनात्मक ढंगले प्रदर्शन गरिएको थियो।

अस्पतालमा अध्ययनरत पीसीएल तेस्रो वर्षका विद्यार्थीहरूले उमेर समूहअनुसार खेलौनाको प्रयोग विधि, त्यसको शैक्षिक महत्व तथा बाल विकासमा पार्ने प्रभावबारे जानकारी गराएका थिए। प्रदर्शनमा राखिएका रंगीन, सुरक्षित र ज्ञानवर्धक खेलौनाहरूले बालबालिकाको ध्यान आकर्षित गर्नुका साथै खेल्दै सिक्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
बालरोग विशेषज्ञ डा. गौरव कुमार गुप्ताले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा खेलको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै खेलौनाहरू अत्यन्त सिर्जनात्मक तरिकाले प्रदर्शन गरिएको बताए। उनले बालस्वास्थ्य प्रवर्द्धनका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।








