युलेशमा होली विशेष उत्सव आयोजना हुँदै

अमेरिका: रंगहरूको पर्व होलीको अवसरमा अमेरिकाको टेक्सास राज्यस्थित युलेशमा विशेष होली उत्सव आयोजना हुने भएको छ। लायन्स क्लबहरूको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आगामी शनिबार मार्च ७ मा १५०१ एस पाइपलाइन रोड, युलेश, टेक्सासमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म हुने भएको हो ।
आयोजकका अनुसार कार्यक्रम निःशुल्क प्रवेशसहित परिवारमैत्री रहनेछ। उत्सवमा रंग, अबिर खेल्नुका साथै स्वादिष्ट परिकार, विविध सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन्। समुदायका सबै सदस्यलाई उपस्थित भई हर्षोल्लासका साथ होली मनाउन आग्रह गरिएको छ।
उक्त कार्यक्रम लायन्स क्लब इन्टरनेशनल अन्तर्गतका विभिन्न क्लबहरूको संयुक्त पहलमा आयोजना हुन लागेको हो। आयोजक क्लबहरूमा ड्यालस हिमालयन वुमेन्स लायन्स क्लब, ड्यालस एभरेष्ट वुमेन्स लायन्स क्लब, ड्यालस हिमालयन स्पोर्ट्स लायन्स क्लब र प्लानो कर्पोरेट साइबर लायन्स क्लब रहेका छन्।
‘होलीका रंगहरूले शान्ति र खुशीयालीको सन्देश फैलाऔँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस उत्सवले नेपाली तथा दक्षिण एसियाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानको संरक्षणमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।






