ह्याट्रिकसहित हेमन्त धामीको ७ विकेट, बागमती १६३ रनले पराजित


eShilalekh

२२ चैत्र २०८२, आईतवार १४:३७

वीरगन्जः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ। तीव्र गतिका बलर हेमन्त धामीको घातक बलिङमा बागमती १६३ रनले पराजित भएको हो ।

जनकपुरधामस्थित रामजानकी मैदानमा २१० रनको लक्ष्य पछ्याएको बागमती ४६ रनमै अलआउट भयो। बागमतीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा हेमन्त धामी नायक बने। उनले ६ ओभरमा मात्र १४ रन खर्चेर ७ विकेट लिए। आफ्नो तेस्रो ओभरमा लगातार तीन विकेट लिँदै उनले ह्याट्रिक पूरा गरे। धामीले आशुतोष घिरैया, पवन थापा र इशान पाण्डेलाई लगातार आउट गरेका थिए।

उनले दबाब कायम राख्दै विवेक मगर, रिजन ढकाल, प्रतिश जिसी र सन्दीप लामिछानेलाई पेभेलियन फर्काए। उत्कृष्ट प्रदर्शनका लागि धामी प्लेयर अफ द म्याच घोषित भए। यससँगै उनले प्रतियोगितामा ६ इनिङमा २१ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन्।

सुदूरपश्चिमका कप्तान शेर मल्लले पनि उत्कृष्ट साथ दिँदै ३.२ ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। उनले सचिन लेखक, शुभ कंसकार र उत्तम मगरलाई आउट गरे।

बागमतीका लागि शुभ कंसकारले ३२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा २०९ रन बनाएको थियो। टोलीका लागि नारायण जोशीले ६८ बलमा ७५ रनको अर्धशतकीय इनिङ खेले । दीपक बोहोराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रनको योगदान दिए।

बागमतीका सन्दीप लामिछाने र प्रतिश जिसीले समान चार/चार विकेट लिए भने रिजन ढकाल र सोनु देवकोटाले एक/एक विकेट हात पारे।

जितसँगै सुदूरपश्चिम ६ खेलमा ५ जितसहित १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको बागमती भने ४ अंकसहित आठौं स्थानमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्