टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले `नेजा कन्क्लेभ २०२६´ आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर अप्रिल १८ तारिख टेक्सासको इरभिङमा कन्क्लेभ आयोजना गर्न लागिएको हो ।
`कनेक्ट, इन्फर्म र युनाइट´भन्ने मूल नारासहित आयोजना गरिने कन्क्लेभले अमेरिका तथा विश्वभर रहेका नेपाली सञ्चारकर्मी, बुद्धिजीवी र समुदायलाई एकै थलोमा जोड्ने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत नेपाली पत्रकारिता, विविधता तथा प्रवासी समुदायका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखिएको छ ।
कन्क्लेभमा संयुक्त राज्य अमेरिकाको विविधता, समुदाय र शक्ति शीर्षकमा वक्तृत्व श्रृंखला, ग्लोबल मिडियामा नेपाल: प्रतिनिधित्व, वास्तविकता र विश्वव्यापी दृष्टिकोण र मिडियामा विविधता र समुदायका मुद्दाहरूसम्बन्धी प्यानल छलफल तथा प्रवासी समुदायमा सामुदायिक मिडियाको व्यवस्थापन विषयमा अनुभव साझेदारी सत्र आयोजना गरिने कार्यक्रम रहेको छ ।
उक्त कन्क्लेभ विश्वमञ्चमा नेपालको प्रतिनिधित्व सुदृढ गर्न, प्रवासी नेपाली मिडियाको सशक्तीकरण गर्न तथा पत्रकारितामा विविधता र समावेशिताको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ ।





