आर्मीले उचाल्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि


eShilalekh

४ बैशाख २०८३, शुक्रबार १९:११

वीरगन्जः त्रिभुवन आर्मीले घरेलु क्रिकेटमा लामो समयदेखि जारी उपाधि खडेरी अन्त्य गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि उचाल्न सफल भयो।

१६२ रनको लक्ष्य पछ्याएको आर्मी सुरुवातमै दबाबमा परेको थियो। ५६ रनमै ४ विकेट गुमाएर संकटमा परेको टोलीलाई इमरान शेख र बसिर अहमदले उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काए। दुवैले पाँचौं विकेटका लागि ९६ रनको महत्वपूर्ण साझेदारी गरे। इमरान ४६ रनमा अविजित रहँदा बसिर ४५ रन बनाएर आउट भए। आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै समेटिएको थियो। खराब सुरुवात गरेको सुदूरपश्चिमले ३१ रनमै ५ विकेट गुमाएको थियो। त्यसपछि अशोक धामीले ४३, किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। आर्मीका आकाश चन्द र साहब आलमले ३/३ विकेट लिए भने बसिर अहमदले २ विकेट झारे।

यो जितसँगै आर्मीले प्रधानमन्त्री कपको उपाधि तेस्रो पटक जितेको हो। यसअघि आर्मीले पहिलो र चौथो संस्करणको उपाधि जितेको थियो। लगातार फाइनल पुग्दै आए पनि पछिल्ला संस्करणमा उपविजेतामै सीमित हुँदै आएको आर्मीले यसपटक उपाधि हात पारेको हो।

उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगितामा विधागततर्फ लुम्बिनी प्रदेशका सन्तोष यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका यादवले २६५ रन बनाउनुका साथै बलिङतर्फ २१ विकेट लिएका थिए। उनले पुरस्कारस्वरूप यामाहा मोटरसाइकल प्राप्त गरे।

यसैगरी गण्डकी प्रदेशका अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भए। उनले ९ इनिङमा ५०४ रन बनाउँदै प्रभावशाली प्रदर्शन गरे। उत्कृष्ट बलरतर्फ सुदूरपश्चिमका हेमन्त धामी घोषित भए, जसले १० इनिङमा २७ विकेट लिएका थिए। कुमाल र धामीले पनि यामाहा मोटरसाइकल प्राप्त गरे। उदीयमान खेलाडीको अवार्ड भने मधेस प्रदेशका आशिक बैठाले जिते। उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे।

फाइनल खेलको प्लेयर अफ द म्याच आर्मीका बसिर अहमद घोषित भए।

प्रतिक्रिया दिनुहोस्