निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, आकस्मिक बाहेकका सेवा जेठ १६ देखि बन्द

सिमराः सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी अस्पतालबाट प्रदान हुँदै आएका अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य बीमा सेवा जेठ १६ गतेदेखि लागू हुने गरी बन्द हुने जानकारी दिएको हो।
सोमबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिइन्। उनका अनुसार अर्को निर्णय नभएसम्म निजी अस्पतालमार्फत दिइने गैरआकस्मिक स्वास्थ्य बीमा सेवा स्थगित रहनेछ।

बोर्डले जारी गरेको पत्रमा भनिएको छ ‘स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकको मिति २०८३/०२/११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
यस निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममार्फत निजी अस्पतालमा उपचार गराउँदै आएका सेवाग्राही प्रत्यक्ष प्रभावित हुने भएका छन्। आकस्मिक सेवा भने यथावत् सञ्चालन हुने बोर्डले जनाएको छ।






