टेक्सासमा `प्रवासमा नेपाली भाषा पाठशालाको एकीकृत पाठ्यक्रम निर्माणका लागि अन्तर्राष्ट्रिय गोष्ठी´ हुने

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सास (एनएसटी) ले `प्रवासमा नेपाली भाषा पाठशालाहरूका एकीकृत पाठ्यक्रम निर्माणार्थ पहिलो अन्तर्राष्ट्रिय गोष्ठी´आयोजना गर्ने भएको छ । नेपाली भाषा, संस्कृति र पहिचानलाई प्रवासमा पनि सशक्त रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ एनएसटीले जुलाई १८ र १९ मा कार्यक्रम गर्न लागेको हो ।
नेपाली समाज टेक्सास (एनएसटी) का अध्यक्ष विजय भुषालका अनुसार गोष्ठी टेक्सासको युलेसस्थित रोयल पार्कवेमा हुनेछ । कार्यक्रममा विश्वभरका नेपाली भाषा शिक्षक, शिक्षाविद्, सामुदायिक अगुवा, अभिभावक तथा भाषा प्रेमीहरूको सहभागिता रहने बताइएकी छ ।
नेपाली समाज टेक्सास (एनएसटी) तथा एनएसटी ग्लोबल पाठशालाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् भने अमेरिकास्थित नेपाली संस्थाहरुले समन्वय गर्ने जानकारी भुषालले दिएका छन् । कार्यक्रममा राष्ट्रिय समुदाय सेवा केन्द्र (एनसीएससी) र नेपाली साहित्य समाजको सहयोग रहने आयोजकले जनाएको छ ।
प्रवासमा सञ्चालन भइरहेका नेपाली भाषा पाठशालाहरूलाई एकीकृत गर्दै साझा पाठ्यक्रम निर्माण, अनुभव आदानप्रदान तथा भावी रणनीति तय गर्ने उद्देश्यका साथ गोष्ठी आयोजना गर्न लागिएको भुषालले बताए । भुषालका अनुसार यस पहललाई प्रवासमा नेपाली भाषा शिक्षाको क्षेत्रमा ऐतिहासिक अभियानका रूपमा हेरिएको छ ।
भुषालले विश्वभर रहेका नेपाली सामुदायिक संघसंस्था, भाषा प्रेमी, अभिभावक तथा शिक्षकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि यस्तो गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।







