चार वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोह डलासमा सम्पन्न


रामप्रसाद अधिकारी

२७ असार २०८३, शनिबार ०९:०१

डलास (टेक्सास): अमेरिकाको टेक्सासस्थित डलासमा नयाँ लायन्स वर्ष २०२६–२०२७ को अवसरमा चार वटा  लायन्स क्लबको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ।

डलास हिमालयन स्पोर्ट्स लायन्स क्लब, डलास एभरेस्ट महिला लायन्स क्लब, प्लानो कर्पोरेट साइबर लायन्स क्लब तथा डलास हिमालयन महिला लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लायन्सका जिल्ला तथा अन्तर्राष्ट्रिय तहका नेतृत्व, विभिन्न क्लबका पदाधिकारी, सदस्य तथा समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्व परिषद् अध्यक्ष जोन इड्स, पूर्व जिल्ला गभर्नर राधा काफ्ले, दोस्रो उपजिल्ला अध्यक्ष थाला राज पन्तले विषेश मन्तव्य व्यक्त गरेका थिए । समारोहमा तत्कालीन क्षेत्रीय अध्यक्ष बसन्त पन्त, पूर्व अध्यक्ष केदार बराल (डलास एभरेस्ट लायन्स क्लब), इरभिङ एभरेस्ट सेन्टेनियल लायन्स क्लबकी अध्यक्ष जीविका अधिकारीलगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा दीपक भण्डारीलाई डलास हिमालयन स्पोर्ट्स लायन्स क्लब, राधा अधिकारीलाई डलास एभरेस्ट महिला लायन्स क्लब, क्षेत्रीय अध्यक्ष सृजना बराललाई प्लानो कर्पोरेट साइबर लायन्स क्लब तथा गंगा बराललाई डलास हिमालयन महिला लायन्स क्लबको अध्यक्षका रूपमा पदस्थापन गरिएको थियो ।

कार्यक्रममा डलास हिमालयन स्पोर्ट्स लायन्स क्लबका निवर्तमान अध्यक्ष तथा क्षेत्रीय अध्यक्ष राजेश अधिकारीको सफल नेतृत्व, समर्पण र समुदाय सेवामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नयाँ सदस्यहरूको पद तथा सदस्यता शपथ ग्रहण पनि गराइएको थियो । यसले क्लबको सदस्यता विस्तारसँगै सेवामूलक अभियानलाई थप सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ । कार्यक्रमको सहजीकरण प्रनिश तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्