बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


eShilalekh

११ श्रावण २०८३, सोमबार १४:३०

सिमरा: बाराको कलैयामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका ३ का अजिज मंसुरका १५ वर्षीय छोरा सोयब मंसुर रहेका छन्।

कलैया उपमहानगरपालिका १७ ब्रह्मपुरीस्थित भित्री सडकमा भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सोयब गम्भीर घाइते भएका थिए भने पछाडि सवार कलैया उपमहानगरपालिका १७ का साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी सामान्य घाइते भएका थिए।

घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा उपचारका क्रममा चालक सोयबको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

सामान्य घाइते भएका साहिदको हातमा सामान्य चोट लागेको र उनको अवस्था खतरामुक्त रहेको छ।

मृतक सोयबको शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्