रसुवा बाढीपीडितका लागि फेटा गाउँपालिकाद्वारा १९ लाखभन्दा बढी सहयोग


eShilalekh

१८ भाद्र २०८३, बिहीबार २०:१३

सिमराः रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बाराको फेटा गाउँपालिकाले १९ लाख २ हजार ६३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपद्को घडीमा बाढीपीडितलाई मद्दत पुर्‍याउने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको योगदानमा उक्त रकम सहयोग गर्न लागिएको हो ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जानकारी दिए । अध्यक्ष अन्सारीका अनुसार गाउँपालिका अन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीको तलबबाट सात लाख ९० हजार पाँच सय रुपैयाँ, स्थायी तथा करार कर्मचारीको तलबबाट पाँच लाख आठ सय ५० रुपैयाँ, विपद् व्यवस्थापन कोषबाट पाँच लाख पाँच हजार, जनप्रतिनिधिको सेवासुविधाबाट एक लाख ६ हजार दुई सय ८३ रुपैयाँ गरी १९ लाख २ हजार ६३३ रुपैयाँ कोषमा जम्मा हुनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पनि आफ्नो सेवा सुविधाबाट रकम कटौती गरी सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्